एमसीसी बारेको निर्णयले बजेट कार्यान्वयनमै प्रश्न उठ्योः प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महामारीको असर सरकारले आकलन गरेको भन्दा बढी हुने संभावना रहेको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि शुरु भएको छलफलमा भाग लिदै नेता सिंहले सरकार महामारी बुझ्न चुकेको बताए । “सरकारले कोरोना महामारीलाई सामान्य रुपमा लिएको जस्तो देखियो। बजेटले महामारीको असरबारे आकलन गर्न सकेन”, उनले भने।
वैदेशिक ऋण, आन्तरिक ऋण र अनुदानबारे गरिएको आकलन हेर्दा सरकारले महामारीलाई बुझ्न नसकेको बताए। सरकारले नतिजा देखाउन नसकेको प्रमाण बजेट भएको उनले बताए। संघीयतालाई प्रभावकारी बनाउनेगरी बजेट नआएको उनले बताए।
अमेरिकन मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) अगाडि नबढाउने निर्णयले नेकपाभित्रै बाट बजेटको विश्वसनीयता माथि प्रश्न उठेको उनले बताए । सिंहले भने, “यसलाई अगाडि नबढाउने भन्ने सुनियो। यसले नेकपाभित्र नै समझदारी नगरी बजेट आएको बुझियो।”
बजेटमा आएको विषय फेरि अगाडि नबढाउने भन्ने निर्णयले बजेट कार्यान्वयनमा समेत प्रश्न उठ्ने उनले बताए।