संविधान संशोधन प्रस्ताव आज संसदमा पेश हुँदै, पूर्व राजपा छुट्टै संशोधन प्रस्ताव दर्ताको तयारीमा
संघीय संसद, प्रतिनिधिसभाको आजको बैठकमा नेपालको नयाँ नक्सा परिमार्जनका लागि संविधान संशोधन विधेयक पेश हुँदैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा यो विधेयक पेश हुने उल्लेख छ । प्रतिनिधिसभा सचिवालयले शनिबार प्रकाशित गरेको ‘संभावित’ कार्यसूची अनुसार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने उल्लेख छ ।
कार्यसूची अनुसार ‘कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री डा.शिवमाया तम्बाहाडफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्न अनुमति माग्ने र त्यसपछि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने’ भनिएको छ । यसअघि बुधबार (१४ जेठमा) को बैठकका लागि अघिल्लो दिन प्रकाशित कार्यसूचीमा पनि संविधान संशोधनको विषय राखिए पनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको थियो । सरकारकै आग्रहमा कार्यसूचीबाट हटाइएको संसद सचिवालयले जनाएको छ । कांग्रेसले संविधान संशोधनको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल गर्न समय मागेकाले बुधबारको कार्यसूचीबाट हटाइएको थियो । ७ जेठमा नयाँ नक्सा जारी गरेको पर्सीपल्ट (९ जेठमा) सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएर ती भूमि यसअघि प्रयोग गरिने नक्सामा थिएन र सरकारले अहिले भने नयाँ नक्सा सार्वजनिक गरेको हो ।
नेपालको संविधानको धारा ९ (२) सँग सम्बन्धित रहेको अनुसूची ३ मा निसान छाप रहेको छ । निसान छापको भित्रपट्टी नेपालको नक्सा छ । त्यो नक्साको ठाउँमा नयाँ नक्सा अद्यावधिक गर्न संविधान संशोधन गर्नुपर्ने भएको हो । त्यसका लागि सरकालाई कांगे्रस र राष्टिय प्रजातन्त्र पार्टीले साथ दिने निर्णय गरिसकेका छन् । कांगे्रसले शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । राप्रपाले बिहीबार तीन अध्यक्षको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको सार्वजनिक गरिसकेका छन् । संविधान संशोधन गर्न संसदमा सहभागी कूल सदस्य संख्याको दुई तिहाइ आवश्यक पर्छ । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा गरी कूल ३३५ जना सांसदहरु छन् ।
पूर्व राजपा संविधान संशोधन प्रस्ताव दर्ताको तयारीमा
सरकारले नेपालको नक्सा परिमार्जनका लागि संविधानको अनुसूची संशोधनका लागि संविधान संशोधन गर्ने तयारी थालेसँगै पूर्व राजपाका नेताहरु आफूहरुले उठाएको माग पनि एकैपटक सम्बोधन हुने गरी प्याकेजमा संविधान संशोधन गर्न माग गर्दै आएका छन् । तर सरकारले ९ जेठमै संविधान संशोधन प्रस्ताव सचिवालयमा दर्ता गरायो । ती नेताहरु आफ्नो मागसहित संविधान संशोधन गर्ने लविङमा लागिरहे । उनीहरु शुक्रबार संशोधन प्रस्ताव दर्ता गराउन जाँदा संसद सचिवालयले आइतबार आउन भन्दै फर्काइदिएको छ ।
शुक्रबार पूर्व राजपाको अध्यक्ष मण्डलका अध्यक्षमध्ये एक महन्थ ठाकुर लगायत नेताहरु संविधान संशोधन प्रस्ताव पेश गर्न संसद सचिवालय पुगेका थिए तर सभामुखसँग छलफल गर्नुपर्ने भन्दै संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार आउन भनेर दर्ता गर्न मानेनन् । पूर्व राजपाका नेता राजेन्द्र महताले सचिवालयले पनि छलफलका लागि समय मागेकाले आफूहरु आज फेरि जाने बताए ।
शुक्रबार संसद सचिवालय पुगेका केही नेताहरुलाई पूर्व संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले फिर्ता बोलाएका थिए । १० वैशाखको मध्यरातमा एकता घोषणा गरेका यी दुई दल संविधान संशोधनको पक्षमा भने एकमत नदेखिएका हुन् । नेता महतोले भने, “आज समय मिलाएर संशोधन प्रस्ताव दर्ताका लागि जान्छौं, उहाँहरु (संघीय समाजवादी पार्टी) सँग पनि छलफल भइरहेको छ ।”
नक्सा परिमार्जनका लागि हुने संविधान संशोधनको पक्षमा त हामी छँदैछौं । आजै हाम्रो संविधान संशोधन प्रस्ताव दर्ता नहुने भनेको अनुसूची संशोधनको विपक्षमा देखिए की भन्ने अर्थ मिडियाले लगाउन खोजेकोमा हाम्रो आपत्ति छ, महतोले भने ।