थप समाचार आइतबार, जेठ १८, २०७७

चीनको कोरोनाभाइरस भ्याक्सिन यही वर्षको अन्त्यसम्म बजारमा आउनसक्ने

हिमालखबर

चीनको कोरोनाभाइरस भ्याक्सिन यही वर्षको अन्त्यसम्म बजारमा आउनसक्ने

चीनले विकास गरिरहेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन यही वर्षको अन्त्यसम्ममा आउन सक्ने अपेक्षा गरिएको छ। चीनका राज्य नियन्त्रित दुई कम्पनीले भ्याक्सिन परीक्षण गरिरहेका छन्।

चीनको वुहानस्थित इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सले उत्पादन गरेको भ्याक्सिन दुई हजार जनामा परीक्षण गरिसकिएको छ। चीनको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन (एसएएसएसी) ले शनिबार सामाजिक सञ्जाल विच्याटमा राखेको सन्देशमा यही वर्षका अन्त्यमा वा सन् २०२१ को सुरुमा भ्याक्सिन बजार पठाउन सकिने जनाएको छ।

त्यस्तै बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सले पनि भ्याक्सिन बनाइरहेको छ । उक्त संस्थाको भ्याक्सिन परीक्षण पनि दोस्रो चरणमा पुगेको रोयटर्सले जनाएको छ। दुवै संस्थाको भ्याक्सिन विकास र परीक्षणलाई एसएएसएसीले अनुगमन गरिरहेको छ।

उता रुसमा पनि भ्याक्सिनको क्लिनिकल परीक्षण हुने भएको छ। त्यहाँका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले अबको दुई हप्ताभित्र भ्याक्सिनको क्लिनिकल परीक्षण सुरु हुने बताएका छन्। रुस कोरोनाभाइरसबाट सर्वाधिक संक्रमितको तेस्रो स्थानमा छ।

प्रतिकृया दिनुहोस