भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
विश्वमै कोरोनाभाइरसबाट बढी संक्रमित हुने देशको नवौँ नम्बरमा रहेको भारतमा मृतकको संख्या पनि बढिरहेको छ । मृत्यु हुनेको संख्या शनिबार पाँच हजार नाघेको छ ।
अहिलेसम्म त्यहाँ पाँच हजार १८५ जनाको मृत्यु भइसकेको छ । भारत बढी मृत्यु हुने सूचीमा भने १३औँ स्थानमा छ । भारतभन्दा अगाडि अमेरिका, बेलायत, स्पेन, इटाली, ब्राजिल, फ्रान्स, जर्मनी, इरान, क्यानडा मेक्सिको, बेल्जियम र नेदरल्याण्ड छन् ।
तेस्रो बढी संक्रमित भेटिएको देश रुसमा भने भारतमा भन्दा कम मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म चार हजार ५५५ जनाको मृत्यु भएको छ ।
भारतमा शनिबार २०५ जनाको मृत्यु भयो । मृतकको संख्या एकै दिन २०० नाघेको यो लगातार दोस्रो दिन हो । अघिल्लो दिन शुक्रबार पहिलो पटक मृतकको संख्या २०० नाघ्दा २६९ जनाको मृत्यु भएको थियो ।
दुई दिनदेखि लगातार आठ हजारभन्दा माथि संक्रमित भेटिएका छन् । पहिलो पटक शुक्रबार आठ हजार १०५ जना संक्रमित एकै दिन फेला परेका थिए । शनिबार आठ हजार ३३६ जना नयाँ संक्रमित फेला परे । त्यहाँ नयाँ संक्रमितको संख्या हरेक दिन बढिरहेका छन् ।
भारत एसियाकै बढी संक्रमित हुने देश हो । त्यहाँ अहिलेसम्म एक लाख ८१ हजार ८२७ जना संक्रमित फेला परिसकेका छन् । तीमध्ये ८६ हजार ९३६ जना निको भएका छन् । उपचाररत संक्रमित ८९ हजार ७०६ जना छन् ।