सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड–१९ विरुद्धको बन्दाबन्दीले दुई महीना पार गरिसकेको छ । बन्दाबन्दी थपिएसँगै पछिल्लो समय संक्रमित दर पनि ह्वात्तै बढेको छ । र, शनिबारसम्म यो संख्या १४०१ पुगेको छ । यो हप्ताको मध्य समयमा आइपुग्दा मृतकको संख्या ६ पुगेको छ । काठमाडौं उपत्यकामा समेत नयाँ संक्रमितहरु धमाधम भेटिइरहेका कारण सरकारले ३२ जेठसम्म बन्दाबन्दीलाई बढाएको छ ।
बन्दाबन्दी लगत्तै साप्ताहिक हिमाल खबरपत्रिकाले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।
'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
गएको शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको आक्रमणमा परी ५ जनाको मृत्यु भयो भने १ जना अझै बेपत्ता छन् । घटना कसरी भएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको जातीय विभेदका कारण भएको भनिएको उक्त घटनाबारे हिमाल टीम र स्थानीय पत्रकार प्रवीर ददेलकाे रिपोर्ट।
चिनियाँ रेशममार्गको प्रस्थानविन्दु मानिने सिआनबाट नेपालका लागि नियमित कार्गो रेल सेवा शुरू गरेको छ । ९ जेठमा पहिलो कार्गो रेल चीनको सिगात्सेतर्फ प्रस्थान गरेको छ। चीनको प्राचीन राजधानी सिआनबाट दक्षिण एशिया लक्षित कार्गो रेल सेवा शुरु गरिएको यो पहिलो पटक हो। चीनको सिआनबाट साताको एक पटक नेपाललक्षित कार्गो रेल सेवा शुरु भएपछि भारतीय बन्दरगाहको सट्टा नेपालले चिनियाँ बन्दरगाहको प्रयोग गरी अन्य मुलुकसँग व्यापार गर्न सजिलो हुन्छ । रमेश कुमारको रिपोर्ट ।
कोरोनाभाइरस महामारी रोकथामका लागि घोषणा गरिएको बन्दाबन्दीपछि देशको अर्थव्यवस्थाको गति ठप्पसरह छ। सरकारलाई आवश्यकता पूरा गर्ने गरी रकम दिन वित्तीय प्रणालीलाई मुश्किल हुन्छ, किनभने घरपरिवारहरूको बचत दर कम छ । नेपाल राष्ट्र ब्यांकले जलाउने निर्णय गरेको ठूलो संख्याका पुराना नोटलाई फेरि चलनचल्तीमा ल्याउने निर्णय पनि गरेको छ । यसलाई सम्बोधन गर्ने अर्को एउटा उपाय हो, अधिक नोट छाप्ने। रमेश कुमारको रिपोर्ट।
नाकाबन्दीविरुद्ध मौन बसेको जस्ता कारणले नै निर्वाचनमा लज्जास्पद हार व्यहोरेको भन्ने निष्कर्ष निकालेको नेपाली कांग्रेस भारतसँगको अहिलेको सीमा विवाद मुखर भएर राजनीतिक भविष्य सुनिश्चित गर्न चाहन्छ । २०७२ को भारतीय नाकाबन्दीमा नबोलेकै कारण आफ्नो पार्टीको २०७४ सालमा शर्मनाक हार भएको कांग्रेसका नेता, कार्यकर्ताको बुझाइ भएकाले सीमा विवादमा मौन बस्नु परिणाम पनि घातक हुने कांग्रेसले बुझेको विज्ञहरूको तर्क छ । के त्यो गल्ती सुधार्ने अवसरलाई कांग्रेसले छोप्छ? मुकेश पोखरेलको रिपोर्ट ।
प्रविधिको माध्यमबाट पढाउन सकिंदैन भन्ने विद्यालय र शिक्षकहरू सुतेका छन्। यस्तै, अनलाइन शिक्षालाई शैक्षिक सत्रको रूपमा अगाडि नबढाउन भन्ने सरकारले थोत्रो बुद्धि प्रदर्शन गरेको छ। शिक्षाविद् विद्यानाथ कोइरालाको विचार ।
ठमेलका साना व्यवसायीले घरभाडा बापत मात्रै लाखौं रुपैयाँ तिर्नुपर्छ । कर्मचारी पाल्ने चिन्ता त छँदैछ। तर, बन्दाबन्दीपछि आम्दानी शून्य। यस्तो अवस्थामा कतिपय त वैकल्पिक व्यवसायमा लागिसकेका छन्। भाडामा व्यवसाय सञ्चालन गर्नुपर्ने र विदेशी पर्यटकमा मात्रै भर पर्नुपर्ने भएका कारण धेरै पर्यटन व्यवसायी समस्यामा छन्। राजु बास्कोटाको रिपोर्ट।
कोरोनाभाइरसको महामारी रोक्न सरकारले गरेको बन्दाबन्दीले दुई महीना पूरा गरेको छ। महामारीको असर अझै लामो समयसम्म जाने देखिन्छ। पछिल्लो समयमा संक्रमितहरूको तथ्याङ्क बढ्दै गएकाले नेपालमा तत्कालै समस्याको समाधान भइहाल्ला भन्ने अवस्था छैन । आफन्त र आफ्ना कार्यकर्तालाई राहत वितरण गरेको आरोप जनप्रतिनिधिमाथि लाग्ने गरेको छ। यस्ता घटना क्रमशः बढ्छन्। त्यसपछि हिंसा र हत्यासम्म पुग्न सक्छ । पूर्व प्रहरी उपरीक्षक रविन्द्र रेग्मीको टिप्पणी
भारतमा रेल सेवा सञ्चालनमा आएपछि नेपालीहरु फर्कने क्रम बढेको छ । यसअघि सीमावर्ती भारतीय जिल्लाका क्वारेन्टिनमा १४ दिनको अवधि पूरा गरेका नेपालीहरुलाई ल्याउने गरे पनि पछिल्लो समय भने संख्या अत्यधिक भएर व्यवस्थापनमा समस्या भएपछि सीधै नेपाल ल्याउने गरिएको छ । यसले नेपालमा संक्रमण फैलिने जोखिमलाई बढाएको छ । मुकेश पोखरेलको समाचार
कोरोनाभाइरसको संक्रमणपछि मृत्यु हुनेभन्दा स्वास्थ्य लाभ गर्नेको संख्या धेरै छ । विभिन्न मुलुकमा तीन महीनाको बच्चादेखि ११३ वर्षकी वृद्धाले समेत स्वास्थ्य लाभ गरेका छन् । अधिकांशले बलियो मनोबलका कारण कोरोनाभाइरसलाई जितेको अनुभव साटिरहेका छन् । यो महामारीमा मानसिक स्वास्थ्य संकट आउन सक्ने विश्व स्वास्थ्य संगठनले भनिरहेको छ तर सरकारले सुनिरहेको छैन । सरकारले मानसिक स्वास्थ्य समस्यालाई बेवास्ता गरिरहेको छ । नुनुता राईको रिपोर्ट ।
द्रुतमार्ग वा नियमित प्रक्रिया– जसरी संविधान संशोधन गरिए पनि सीमा विवाद सल्टाउन हामीसँग वार्ताको विकल्प छैन र हाम्रै कारण वार्ताको सम्भावना खुम्चिएको सन्देश कुनै पनि हालतमा जान हुँदैन । … भौगोलिक अखण्डता बारे कसैगरी पनि संविधान संशोधन गर्न नसकिने भएकाले आजको संशोधन भोलि गर्नै नसकिने सम्बोधन हुन नसकोस् भन्नेमा पनि विशेष सचेत हुनुपर्छ । संविधान सम्बोधन सुखद सम्भावनाको समाप्ति होइन, शुरुवात बन्नुपर्छ । किरण नेपालको सम्पादकीय ।
सरकारले सधैं झैं १६ जेठमा सगरमाथा दिवस मनाएको छ । संसारको सर्वोच्च शिखर सगरमाथा सफल आरोहणको दिन २९ मे (१९५३) लाई आधार मानी मनाइने यो दिवसमा सगरमाथा शिखरमा पहिलो मानव पाइला राख्न सफल तेञ्जिङ नोर्गे शेर्पा र सर एण्डमण्ड हिलारी स्मृतिमा सन् २००८ देखि मनाइन थालिएको हो । कोभिड–१९ महामारीका कारण यो सिजनकै पर्वतारोहण स्थगन गरिएका कारण सगरमाथा क्षेत्र सुनसान रहेको यो वर्ष सगरमाथा दिवसका कार्यक्रम पनि औपचारिक कार्यक्रममा मात्र सीमित रहे, जहाँ पर्यटनमन्त्री योगेश भट्टराईले आरोही कल्याण कोष स्थापनाको घोषणा गरे । राजु बास्कोटाको रिपोर्ट।
कोभिड–१९ महामारीसँगै अनलाइन किनमेल बढ्ने विश्लेषण गरिएको छ। बन्दाबन्दीको वेला नेपालमा पनि अनलाइनबाट सामान अर्डर गरेर घरघरमा पुर्याउने सेवा फस्टाएको छ। महामारीपछि बन्दाबन्दीका कारण घरैमा खाना खाने संस्कार पनि बढेको छ । कोरोनाभाइरस महामारीले स्वास्थ्य र आहारविहारमा मानव जगतलाई सजग बनाउँदै खानपानसँग जोडिएको जीवनशैलीमा परिवर्तन गरिरहेको अनुसन्धानहरूले देखाएका छन् । रामु सापकोटाको रिपोर्ट ।
सरकारले आगामी आर्थिक वर्षका लागि रु. १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षका लागि रु. १५ खर्ब ३३ अर्बको बजेट प्रस्तुत गरिएको थियो। आगामी आर्थिक वर्षको बजेट मध्ये चालु खर्चका लागि रु. ९ खर्ब ४८ अर्ब ९४ करोड छुट्याइएको छ। यो कुल बजेटको ६४.४ प्रतिशत हो । त्यस्तै, विकास लक्षित पुँजीगत शीर्षकमा रु. ३ खर्ब ५२ अर्ब ९१ करोड छुट्याइएको छ। यो कुल बजेटको २३.९ प्रतिशत हो। बजेटमा केही नयाँ कार्यक्रमहरू पनि समेटिएका छन् । अघिल्लो वर्षका शीर्षकमा कहीं बजेट बढेको छ भने कहीं घटेको पनि छ । सरकारले वातावरण संरक्षणका लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने नीति घोषणा गरेको थियो। तर, आफ्नै घोषित नीति विरुद्ध विद्युतीय गाडीमा करको दर ह्वात्तै बढाएको छ । यस पटक विज्ञहरूले भनेका धेरै सरसल्लाहलाई सरकारले सुनेन भन्ने आरोप पनि उत्तिकै छ । गोकर्ण अवस्थीको विश्लेषणसहित ।
शाहवंशीय दशौं राजा वीरेन्द्र राजगद्दीमा बसेको तीन दशक पुगेपछि राजपाठ छोड्न चाहन्थे रे। उक्त संवेदनशील कुरो अघिल्लो साता मात्र वीरेन्द्रको नजिक बसेर लामो समय काम गरेका माथिल्लो तहका अधिकृतले भनेका हुन्। वीरेन्द्रले २०२८ माघदेखि शासन सम्हालेका थिए। त्यस हिसाबले २०५८ सालमा तीन दशक पूरा हुन्थ्यो। तर त्यही वर्षको १९ जेठमा राजदरबार हत्याकाण्डमा उनीसहित वंशकै नाश भयो। त्यस कारण वीरेन्द्रको गद्दी परित्यागको कुरा कल्पना र अमूर्त इच्छामै सीमित भयो। भैरव रिसालको स्तम्भ ‘भाेगेकाे, देखेको, सुनेको'