दैलेखमा मृत्यु भएकाको कोरोना रिपोर्ट पोजेटिभ
दैलेखको दुल्लु नगरपालिका–७ किर्तीखम्ब स्थित क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको छ।
शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा स्वाब परीक्षण गरिएको थियो। परीक्षणको रिपोर्ट पोजेटिभ आएकाे मन्त्रालय स्रोतले जनाएको छ।
भारतको गुजरातबाट घर फर्किएका ती युवकको शनिबार विहान मृत्यु भएको थियो। विहानको खाजा खाएर सुतेका केही समयमा उनी मृत भेटिएका थिए।
शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियोे। दुल्लु नगरपालिका–११ कालभैरवका ३५ वर्षीय मृतक युवकमा कुनै लक्षण देखिएको थिएन। योसँगै, नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।
शनिबार एकै दिन १८९ जनामा संक्रमण पुष्टि भएको थियो। २४ घण्टामा १८९ जनामा संक्रमण देखिए पछि नेपालमा संक्रमित संख्या १४०१ पुगेको थियो। दैलेखमा मृत्यु भएको रिपोर्ट पोजेटिभ आएसँगै संक्रमित संख्या पनि १४०२ पुगेको छ।
-यज्ञराज थापा, दैलेख