महोत्तरीमा मेयरले राहतमा विभेद गरेको भन्दै स्थानीयद्वारा भंगाहा नगरपालिका घेराउ
महोत्तरीको भंगाहा नगरपालिकामा मेयरले राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयले नाराबाजीसहित नगरपालिका कार्यालय घेराउ गरेका छन् ।
नगरपालिकाका मेयर सञ्जीव साहले राहत वितरण गर्दा आफ्ना मान्छेलाई मात्रै छानेर दिएको र खास पाउनु पर्नेलाई नदिएको भन्दै हजारौँको संख्यामा उपस्थित सर्वसाधारणले बन्दाबन्दीको समयमा नगरपालिकाको कार्यालय सितापुर बजारमा प्रदर्शन गरेका हुन् । मेयर साहले मनोमानी ढंगले आफू अनुकूललाई मात्र राहत दिएकाे उनीहरूको आरोप छ।
गएको दुई महीनादेखि बन्दाबन्दीका कारण विशष गरी कृषकहरू मारमा परेका छन् । महामारी रोकथामका लागि भनेर गरिएको बन्दाबन्दीले बजार बन्द हुँदा कृषकहरूको तरकारी खेतमै सडेको छ।
प्रदर्शनकारीहरुले मेयरको राजीनामा माग्दै भोकालाई खान र गरीब जनतालाई राहतको माग गर्दै नाराबाजी गरे।
नेकपाका भंगाहा नगर इन्चार्ज मुकुन्द दाहालले नेकपा र नेपाली कांग्रेसका स्थानीय नेताले संयुक्त रुपमा मेयरसमक्ष समान तवरले राहत वितरणको माग राखे पनि राजपाबाट निर्वाचित मेयर साहले मागमा कुनै वास्ता नगरेको बताए।
नेपाली कांग्रेस र नेकपाले हिजो पनि जमुनियास्थित थारु टोल बन्द्रामा विरोध प्रदर्शन गरेका थिए । सो समयमा मेयर साह पक्षले विरोध कार्यक्रममा हमला गरेको दाहालले बताए।
उनले भने, “हामीले हिजो भौतिक दूरी कायम गर्दै प्रदर्शन गरेका थियौँ । कार्यक्रम समापन हुनै लागको थियो, सोही क्रममा रक्सी खाएर आएका मेयरका गुन्डाहरूले हामीमाथि आक्रमण गरे।”
मेयर साहले आफूले नगरपालिकाका कर्मचारीको तलब भत्तालाई रोकेर रकम रकमान्तर गरी सबै घरधुरीलाई राहत वितरण गरेको बताए । "उहाँहरूले माग गरे जति प्रति घरधुरी ५० किलो चामललगायत राहत वितरण गर्न हामीसँग पर्याप्त बजेट छैन । खातामा पैसा छैन । भएको बजेट र जुगाड रकमले राहत वितरण भइरहेकै छ", उनले भने ।
साथै नेकपाका नगर इन्चार्ज दाहालले राति १२ बजे फोन गरेर आफूलाई धम्की समेत आएको बताए ।
उता मेयर साहले भने आफूले कसैलाई फोन गरेर धम्की दिन नलगाएको बताए । आफूसँग दाहाललाई राति फोनमा धम्की आएको भन्ने जानकारी पुगेको र आफूले प्रहरीलाई यस विषयमा खबर गरेको साहको भनाइ छ।
स्थानीय रातु खोलामा मेयर साहको संरक्षणमा अवैध क्रसर उद्योग सञ्चालन गरेको आरोप स्थानीयहरूको छ । जनताको पटकपटकको विरोधका बाबजुद पनि उनले सो क्रसर उद्योग बन्द नगराएको कांग्रेसका नगरपालिका संयोजक रुपनारायण सिंहको भनाइ छ।
क्रसर उद्योगकै कारण वर्षेनि रातु खोलाले खेती योग्य खेत कटान गर्ने गरेको छ । मेयर साह यसअघि पनि कर्मचारीलाई हातपात गरेको घटनामा विवादमा आएका थिए । पछि, उनले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने भन्दै माफी मागेका थिए।