रौतहटको ईशनाथ नगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा
क्वारेन्टिनमा जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भदै रौतहटको ईशनाथ नगरपालिकाका सबै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका छन्।
हिजाे ईशनाथ नगरपालिका ७ जोकहास्थित मदरसामा भेटिएका दुई संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा स्थानीयले अवरोध गरेका थिए।
संक्रमित दुई जनालाई उपचारका लागि बाहिर लैजानुभन्दा त्यहीँ राखेर उपचार गर्नुपर्ने माग राख्दै भएको ढुंगा हानाहानको क्रममा स्वास्थ्यकर्मीमाथि पनि आक्रमण र दुर्व्यवहार भएको भन्दै नगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीले क्वारेन्टिनमा काम नगर्ने अडान लिएका छन्।
क्वारेन्टिन र स्वास्थ्य चौकीमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि ढुंगामुढासँगै खुर्सानीको धूलोसहित हानेकाले उनीहरुलाई पक्राउ गरी कारबाहीको माग ती स्वास्थ्यकर्मीहरुले गरेका छन् ।
नगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्था तथा क्वारेन्टिनमा ड्युटी नगरी नगरपालिका कार्यालयमा धर्ना दिने निर्णय गरेको स्वास्थ्य संयोजक इशराजुल खानले बताए ।
रौतहटमा अत्यधिक प्रभावित स्थानीय तहमा ईशनाथ नगरपालिका रहेको छ । नगरपालिकाका १९ क्वारेन्टिनमा १८०५ जना मानिस रहेका छन् । क्वारेन्टिनमा रहेका मानिसहरुले निरन्तर सेवा र सुविधाको माग गरिरहेका छन्।
सञ्जय मित्र, रौतहट