जर्ज फ्लोइडको हत्या विरुद्ध तनावग्रस्त अमेरिका : 'मलाई सास फेर्न गाह्रो भयो' भन्दै प्रदर्शन
अमेरिकाको मिनियापोलिसमा प्रहरीले नियन्त्रणमा लिएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्या भएपछि देशभर प्रदर्शन भएको छ।
अमेरिकाका मिनेसोटा, न्यूयोर्क, एटलान्टालगायत क्षेत्रमा जर्ज फ्लोइडले प्रहरीसँग पटकपटक भनेको वाक्य 'मलाई सास फर्न गाह्रो भयो' भनेर लेखिएका ब्यानर पोस्टकार्ड बोकेर प्रदर्शन भइरहेको छ।
प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेपछि प्रदर्शनहरू हिंसात्मक हुँदै गइरहेका छन् । प्रदर्शनकारीहरूले ह्वाइट हाउस बाहिर उपस्थित भएर जर्ज फ्लोइडको हत्यामा न्यायको माग गरिरहेका छन्।
प्रदर्शनले उग्र रुप लिएपछि लगाइएको कर्फ्यूलाई आन्दोलनकारीले तोडेका छन् । सडकमा टायर बाल्ने, बिजनेस पार्कमा तोडफोड हुनेदेखि लिएर प्रहरीकै भ्यानलाई समेत आन्दोलनकारीले नछोडेको अन्तर्राष्ट्रिय सञ्चार संस्था सीएनएनले उल्लेख गरेको छ।
मिनियापोलिस र सेन्ट पल शहरमा शुक्रबार र शनिबार बेलुका ८ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ।
मिनियापोलिसमा लुटपाट भएका घटनाहरू सार्वजनिक भएका छन् भने सेनालाई मिनियापोलिसमा सम्भावित गस्तीका लागि तयारी अवस्थामा राखेको जनाइएको छ।एटलान्टाका कैयौँ क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ भने मिनेसोटामा स्थिति गम्भीर छ।
हत्यामा संलग्न प्रहरी अधिकारी नियन्त्रणमा
हिरासतमा जर्ज फ्लोइडको मृत्यु भएपछि घटनामा संलग्न मिनियापोलिसका एकजना पूर्व प्रहरी अधिकारी गोरा जातिका डेरेक चौविनसहित तीन जनालाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको बीबीसीले जनाएको छ।
डेरेक चौविनले नै फ्लोइडको घाँटी थिचेको भिडियो फुटेज सार्वजनिक भएको थियो । त्यस लगत्तै चौविन र थप तीनजना प्रहरीहरूलाई सेवाबाट बर्खास्त गरिएको वासिङ्गटन पोस्टले जनाएको छ।
पक्राउ परेका चौविनलाई सोमबार मिनियापोलिसस्थित एक अदालतमा उपस्थित गराइने बताइएको छ । हत्यामा संलग्न चौविनलाई तेस्रो तहको अभियोग लगाइएको छ भने फ्लोइडको परिवारले प्रथम तहको अभियोगको माग गरेको जनाइएको छ।
सम्बन्धित सामग्री:
पोस्टमोर्टम रिपोर्टमा फ्लोइडले प्रतिक्रिया नजनाएको तीन मिनेट पछिसम्म पनि चौविनले घाँटीमा थिचिरहेको र कुल ८ मिनेट ४६ सेकेन्डसम्म उनलाई सास फेर्न नदिइएको रिपोर्टमा उल्लेख छ।
प्रहरीले घाँटीमा थिचिरहेको बेलामा फ्लोइडले 'मैले सास फेर्न सकिरहेको छैन, मलाई नमार' भनेको भिडिओमा सुनिन्छ।
फ्लोइडलाई मुटु समस्या रहेको र प्रहरीको थिचाइले 'उनको मृत्यु हुनमा सहयोग पुगेको' रिपोर्टमा उल्लेख गरिएको बीबीसीले जनाएको छ।