नेकपा सचिवालय बैठक सकियो, संसदबाट निर्णय नभएसम्म एमसीसीको गतिविधि रोकिने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। बैठकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे संसदबाटै निर्णय गर्ने निर्णय गरेको छ।
संसदले निर्णय नलिएसम्म एमसीसीबारे थप गतिविधि नगर्ने निर्णय बैठकले गरेको नेकपाका प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
१५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७—७८ को सरकारको आयव्यय विवरण (बजेट)मा एमसीसी समावेश गरिएपछि नेकपाको सचिवालय बैठक बोलाइएको थियो। वैदेशिक अनुदान स्रोत शीर्षकमा राखिएको एमसीसीबारे संसदबाट निर्णय भए बमोजिम हुनेगरी भनी प्रष्ट पार्न अर्थमन्त्रीलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ।
प्रेस सल्लाहकार थापाका अनुसार, एमसीसीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा दिएको जवाफकै आधारमा बजेटमा समावेश हुनेछ। प्रधानमन्त्री ओलीले एमसीसी संसदकै विषय भएकाले सोही अनुसार निर्णय लिने बताएका थिए।
संसदमा एमसीसी विचाराधीन रहेकाले तत्कालका लागि यसबारे भइरहेका गतिविधि अघि नबढाउने निर्णय समेत बैठकले गरेको छ। एमसीसी बारे थप छलफल अर्को बैठकमा गर्ने निर्णय समेत भएको छ।
सत्तारूढ दलभित्र चर्कोगरी विवादित रहेको एमसीसीबाट रु.५ अर्ब ७४ करोड ७४ अनुदान आउने अनुमान बजेटको अनुसूचीमा उल्लेख छ। बजेटको अनुसूचीमा राखिए पछि नेकपाले सचिवालय बैठक बोलाएको थियो।