एटीएम फुटाउँदै गर्दा पक्राउ
मध्यराति एटीएम फुटाउँदै गर्दा मध्यपुर ठिमी वडा नं. ६ बाहखा बजारबाट एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक घर भएका २१ वर्षीय सचिन तामाङलाई पक्राउ गरेको हो ।
उनले बाहखा बजारस्थित सञ्जीव चित्रकारको चार तले घरको भुईंतलामा रहेको एनआईसी एसिया ब्याङ्कको एटीएम फुटाउने प्रयास गरेका थिए । उनलाई प्रहरीले गएराति सवा २ बजे नियन्त्रणमा लिएको हो ।
एटीएम फुटाउँदै गरेको सूचनाको आधारमा प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा रहेको गस्ती टोलीले उनलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ । तामाङ मध्यपुर ठिमी वडा नं. ६ नगदेश बस्छन् ।
उनको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राईभर, एटीएमको बाहिरी कभर र डण्डी बरामद भएको प्रहरीको भनाइ छ ।
उनलाई प्रहरी वृत्त ठिमीमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।