प्रत्यक्ष प्रसारण गरिरहेका सिएनएन पत्रकारलाई अमेरिकी प्रहरीले पक्रियो
अमेरिकी काला नागरिकको हत्याविरोधी प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका सीएनएन पत्रकार ओमर जिमेनेजलाई अमेरिकाको प्रहरीले मिनेसोटाबाट पक्राउ गरेको छ । बीबीसी, सीएनएन लगायत दर्जनौँ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको स्थानबाटै उनी पक्राउ परेका हुन् ।
गैरहतियारधारी काला नागरिक पक्राउका क्रममा घाँटी थिच्दा मृत्यु भएपछि विरोधमा मिनेसोटामा प्रदर्शन भइरहेको छ । उक्त प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका जिमेनेजसहित उनको क्यामरा टोलीलाई नै मिनेसोटाको प्रहरीले पक्राउ गरेको हो ।
प्रत्यक्ष प्रसारण गरिरहँदा उनलाई गरी हथकडी लगाएर लगिएको दृश्य सीएनएन, बीबीसी लगायत सञ्चारमाध्यममा प्रत्यक्ष देखाइएको थियो । उनको टोलीलाई पक्राउ गरेपछि भुईंमा राखिएको क्यामरा अरु चार मिनेट चालू भइरहेको भिडियोमा देखिन्छ । क्यामरा बन्द नभइ भिडियो समाप्त हुन्छ ।
पक्राउ पर्दापर्दै उनले गिरफ्तार गर्नुको कारण सोधेका थिए । तर, प्रहरीले स्पष्ट कारण नखुलाइ पक्राउ गरेको हो ।
त्यहाँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिन दर्जनौँ प्रहरी खटाइएका थिए । प्रत्यक्ष प्रसारणका क्रममा जिमेनेजलाई अचानक ६ जना प्रहरीले घेरा हाल्छन् । त्यसपछि दायाँबायाँ दुई प्रहरीले पाखुरा समात्छन् । उनी त्यसको केहीबेर माइकमा बोलिरहन्छन् । तर, हथकडी लगाउन हात पछाडि लगिएपछि उनको क्यामरा भुईंमा खस्छ ।
उनी सञ्चारकर्मीलाई छुट्याइएको ठाउँबाटै प्रत्यक्ष प्रसारण गरिरहेका थिए । उनलाई किन पक्राउ गरियो भन्ने नखुलेको अन्य पत्रकारले जनाएका छन् ।
मिनेसोटाको प्रहरीले उनीहरु मिडियाकर्मी भएको खुल्नेबित्तिकै रिहा गर्ने बताएका छन् । उता गभर्नर वाल्जले यो घटनाको आफूले जिम्मेवारी लिने बताएका छन् ।
गएका मंगलबार जर्ज फ्लोएड नामका काला नागरिकलाई प्रहरीले गिरफ्तार गर्ने क्रममा लडाएर घुँडाले घाँटी थिचेको भिडियो सार्वजनिक भएको थियो । त्यसक्रममा उनले आफूले श्वास फेर्न नसक्ने बताएका थिए । पछि उनको मृत्यु भएको घोषणा गरिएको थियो ।
सन् २०१४ मा पनि प्रदर्शनमा उत्रिएका काला नागरिक एरिक गर्नरको घाँटी समाएका थिए । उनले पनि ‘म श्वास फेर्न सक्दिन’ भनेका थिए । उनको मृत्युपछि ‘आइ क्यान नट ब्रेथ’ आन्दोलन चलेको थियो । अमेरिकामा काला जातिमाथि भेदभाव र दमन हुने गरेको उनीहरुको आरोप छ । प्रहरीले पक्राउ गरेका पत्रकार पनि काला नागरिक हुन् ।