चीनको कठपुतली भएको भन्दै डब्लुएचओबाट अमेरिका अलग भएको घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनको कठपुतली भएको आरोप लगाउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका उक्त संगठनबाट अलग भएको घोषणा गरेका छन् ।
डब्लुएचओ कोरोनाभाइरस फैलनबाट सुरुमा नै रोक्न असफल भएको आरोप पनि लगाएका छन् । शुक्रबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने, “हामीले व्यापक सुधारका लागि अनुरोध गरेका थियौँ, तर त्यसो भएन, आजबाट हामी डब्लुएचओसँगको नाता तोड्दै छौँ ।”
डब्लुएचओ पूरै चीनको नियन्त्रणमा भएको पनि ट्रम्पले बताए । चीनले उक्त संगठनलाई दिने कोष मामुली मात्र भएको उनको दाबी छ । उनले भनेका छन्, “चीन हरेक वर्ष चार करोड डलर सहयोग गर्छ र उसको डब्लुएचओमा पूरा नियन्त्रण छ, तर अमेरिका ४५ करोड डलर सहयोग गर्छ ।”
डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । ट्रम्पले यसअघि नै डब्लुएचओलाई दिने सहयोग रोक्का गरेको घोषणा गरिसकेका थिए । अब उक्त सहयोग विश्वमा अतिआवश्यक जनस्वास्थ्यको क्षेत्रमा लगाउने पनि ट्रम्पले घोषणा गरेका छन् ।
चीनले सुरुमा कोरोनाभाइरसबारेको सूचना लुकाएको र त्यसमा डब्लुएचओले साथ दिएको ट्रम्पले आरोप लगाउँदै आएका छन् । चीनका कारण पूरै विश्वले सास्ती भोगेको उनको आरोप छ ।