एकै दिनमा २८ लाख बिरुवा रोप्दै फेकोफन
सामुदायिक वन उपभोक्ता महासंघले आफ्नाे रजत जयन्तीको अवसर पारेर १८ जेठमा २८ लाख बिरुवा राेप्ने जनाएकाे छ।
महासंघ स्थापनाको २५ औ वर्षको अवसरमा सामुदायिक वन आवद्धसँग हरेक परिवारले एक बिरुवा रोप्ने महासंघले जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ १८ जेठ २०५२ मा स्थापना भएको थियो।
शुक्रबार आयोजित 'भर्चुअल प्रेसमिट'मा महासंघकी अध्यक्ष भारती पाठकले एक परिवार एक बिरुवा रोप्नका लागि महासंघले सबै उपभोक्ता समूहलाई पत्राचार गरेको जानकारी दिइन्।
महासंघका अनुसार, २२ हजार दुई सय ६६ सामुदायिक वन उपभोक्तामा २९ लाख सात हजार आठ सय ७१ घरपरिवार रहेका छन् । प्रत्येक परिवारले कम्तीमा एकदेखि बढीमा पाँचवटा बिरुवा आफ्नो खेतबारीमा रोप्न स्थानीय उपभोक्तालाई सर्कुलर जारी गरेको पाठकले बताइन्।
त्यसैगरी महासंघले १७ जेठमा कोरोना मुक्तिको कामना गर्दै हरेक सामुदायिक वन उपभोक्ताको घरमा दीप प्रज्ज्वलनको कार्यक्रम राखेको छ।