विदेशमा रहेका नेपालीहरुको हवाई उद्धार हुने, स्थलमार्गबाट आउनेका लागि २० नाका खोलिदै
सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुको हवाई उद्धार गर्ने तयारी थालेको छ । यसका लागि प्राथमिकता तोकेर विदेशस्थित नेपाली नियोगमा आफूलाई दर्ता गराउन भनिएको छ। सरकारले गर्ने उद्धारकाे खर्चका विषयमा भने केही खुलाइएकाे छैन।
कोभिड–१९ उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले १२ जेठको मन्त्रिपरिषद् बैठकले जारी गरेको सहजीकरण आदेश अनुसारको योजना बनाएको हो। समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले प्राथमिकता तोकेर विदेशबाट नेपाल आउन चाहनेहरुको हवाई उद्धारको खाका तयार भइरहेको बताएका हुन्।
उनका अनुसार विभिन्न देशका सरकारले जेल सजाय आममाफीपछि अलपत्र परेकाहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ । यस्तै श्रम करार सकिएका र रोजगार गुमाएका, कलेज बन्द भएपछि समस्यामा रहेका बिद्यार्थी, गर्मवती तथा शारीरिकरुपमा फरक क्षमता भएकाहरू र काम विशेषले विदेश गएर उतै अलपत्र परेका सरकारी कर्मचारीहरूलाई नेपाल ल्याउने अन्तिम तयारी भइरहेको हो।
“स्वदेशी हवाई कम्पनीहरूलाई पहिलो प्राथमिकतामा राखेर उद्धारको पहल हुनेछ,” बिडारीले समितिका निर्णय सुनाउँदै भने, “नेपाल आउनेहरूको सूची तयार भइरहेको छ। ”
उनका अनुसार सरकारले स्थमार्गबाट नेपाल आउनेहरूका लागि २० वटा नाका बन्दाबन्दी अवधिमा खुला राख्ने निर्णय समेत कार्यान्वयन गर्ने भएको छ।
यसका लागि सरकारको आदेश अनुसारका नाकाहरूको विवरण रात्रपत्रमा प्रकाशित गरिनेछ । समितिका अनुसार ती २० नाकामा पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मंगलवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला रहेका छन्।