संक्रमित राख्ने विषयमा विवाद हुँदा रौतहटमा १३ राउण्ड हवाई फायर
रौतहटको ईशनाथ नगरपालिकामा कोरोनाभाइरस संक्रमितलाई आइसोलेसनमा लैजान स्थानीयले अवरोध गरेपछि प्रहरीले १३ राउण्ड गोली चलाएको छ ।
ईशनाथ नगरपालिका–७ जोकहास्थित माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनका दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उपचारको लागि आइसोलेसनमा लैजान खोजिएको थियो । प्रहरी र स्वास्थ्यकर्मीले बिहीबार नै उनीहरुलाई आइसोलेसनमा लैजान खोजे पनि स्थानीयले अवरोध गरेका थिए । क्वारेन्टिनमा नै संक्रमितको उपचार हुनुपर्ने र आफूहरुले पनि सुविधा पाउनु पर्ने त्यहाँ राखिएकाको मागलाई स्थानीयले समर्थन गर्दै आएका छन् ।
शुक्रबार पनि प्रहरीले संक्रमित दुवै जनालाई गरुडास्थित नेपाल प्रहरी विद्यालयको आइसोलेसनमा लैजान खोज्दा स्थानीयसँग झडप भएको हो । स्थानीयले प्रहरीलाई ढुंगा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन १३ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि रविराज खड्काले जानकारी दिएका छन् ।
स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय राजपुर फरहदवाको ना१झ ५८२ नम्बरको प्रहरी भ्यानमा क्षति पुगेको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
बिहीबार पनि रौतहटको कटहरिया–१ भसेढवास्थित माध्यमिक विद्यालयमा क्वारेन्टिन बनाउन गएका प्रहरी र स्थानीयबीच झडप हुँदा १२ राउण्ड हवाई फायर भएको थियो ।
सञ्जय मित्र/रौतहट