बजेट जनपक्षीय र समाजवाद उन्मुख: दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बजेट जनपक्षीय, प्रगतिशील र समाजवाद उन्मुख आएको बताएका छन् ।
कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा पनि निकै सन्तुलित र जनतालाई राहत दिने ढंगबाट आएको बताए ।
“बजेट सिर्जनात्मक ढंगले, प्रगतिशील, जनपक्षीय र समाजवादउन्मुखरुपमा आएको छ । सबै समुदाय र खासगरी निम्न वर्गका जनतालाई राहत दिन बजेटमा प्रयास गरिएको छ, जुन सराहनीय छ”, उनले भने। आन्तरिक राजश्व र बाह्य ऋण सहयोगको अनुमान वस्तुवादी नै रहेको दाहालले बताए।
वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालले बजेटले अहिलेको आवश्यकता बोध गरेको बताए ।
“कोभिड–१९ महामारी सामना, स्वास्थ्य क्षेत्रका समस्या, स्वदेश फर्केका जनताको व्यवस्थापन, रोजगारी सिर्जना, कृषिलाई प्रोत्साहन, आत्मनिर्भर अर्थतन्त्रतर्फ अग्रसर हुने कुरादेखि उद्योग, सेवा क्षेत्रलाई सम्बोधन गर्ने ढङ्गले राम्रो बजेट आएको छ”, उनले भने।
ऊर्जामन्त्री वर्षमान पुनले बजेट प्राथमिकता केन्द्रित र सन्तुलित रहेको बताए। उनले भने, “स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकता दिएको हुँदा बजेट राम्रो छ।”