पर्यटन व्यवसायी भन्छन्–बजेट सन्तोषजनक
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले पर्यटन क्षेत्रलाई उचित रुपमा सम्बोधन गरेको पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूले प्रतिक्रिया दिएका छन्।
सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको र विनियोजन अनुसार कार्यान्वयन पनि राम्रो भए सन्तोषजनक मान्नुपर्ने उनीहरुको भनाइ छ।
होटल संघ नेपाल (हान) का सिर्जना राणाले बजेट मार्फत ५ प्रतिशतको सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था सराहनीय रहेको बताइन्। उनी भन्छिन, ‘‘पर्यटन क्षेत्र शिथिल भएको यो वेला व्यवसायीले तत्कालै कर्मचारीको हकमा अनुदानको अपेक्षा गरेका थिए, यसलाई बजेटले सम्बोधन नगरे पनि अन्य पक्षबाट उद्योग, पूर्वाधार, आन्तरिक पर्यटन प्रवद्र्धन लगायतमा सम्बोधन गर्नु सकारात्मक छ।’’
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाईंले बजेटले समग्रमा पर्यटनका विभिन्न पक्ष समेटेको बताए। कोरोनाभाइरस महामारीका कारण सबैभन्दा धराशायी क्षेत्र नै पर्यटन भएकाले बिजुलीमा छूट, नयाँ बिजनेस र ऋण लिंदा दिइने प्रोत्साहनलाई अब कार्यान्वयन पक्षबाट हेर्नुपर्ने उनले बताए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान) का अध्यक्ष खुबहादुर सुवेदी पर्यटनलाई छुट्याएको बजेट, पूर्वाधारको विकास, पर्यटन क्षेत्रका मजदूरहरूका लागि वैकल्पिक रोजगारी, तालिम र राहत एवं कर्जा र ब्याजदरको सुविधालाई सम्बोधन हुनु सकारात्मक भएको बताउँछन्।
“सरकारले ल्याएको कर छूट र नवीन सूचना व्यवस्था प्रणाली लागू गर्ने विषयले पनि पर्यटनलाई राहत नै दिएको छ”, उनले भने।
सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष मधुसूदन उपाध्यायले पनि बजेट पर्यटन व्यवसायीको हितमा नै आएको बताए।