क्वारेन्टिनमा खटिएका दुई प्रहरी संक्रमित
सप्तरीको बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका थप एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
बुधबार मात्र सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय प्रहरी सहायक निरीक्षकमा संक्रमण पुष्टि भएको थियो।
प्रदेश–२ मा कोरोना संक्रमित प्रहरीको संख्या १३ पुगेको छ। सबैभन्दा बढी बारामा सात प्रहरी संक्रमित देखिएका छन्।
सप्तरी, सिरहा र धनुषामा दुईदुई प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए।
देशभर कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ। बिहीबार मात्रै १५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।