बढेन सामाजिक सुरक्षा भत्ता
अहिलेसम्म प्रदान गरिँदै आएको सबै प्रकारको सामाजिक सुरक्षा भत्तालाई सरकारले निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने बताए।
बालबालिकालाई राज्यले संरक्षण गर्नुपर्छ भन्ने सरकारको नीति अनुसार आगामी वर्ष दलित तथा कर्णाली क्षेत्र र तराई मधेशलगायतका गरिबीका रेखामुनि रहेका परिवारका बालबालिकालाई समेट्ने गरी बाल संरक्षण अनुदानको दायरा फराकिलो बनाइएको छ।
यसका लागि रु तीन अर्ब ७६ करोड विनियोजन गरिएको छ । यो कार्यक्रमबाट करीब १३ लाख बालबालिका लाभान्वित हुने सरकारको अनुमान छ।
आर्थिक रुपले विपन्न, एकल महिला, लोपोन्मुख र सीमान्तकृत समुदायलाई विशेष सुरक्षा र संरक्षण गरिनेछ । ७० वर्षमाथिका व्यक्तिका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रमबाट एकलाख व्यक्ति लाभान्वित भइसकेकाले यो कार्यक्रमलाई निरन्तरता दिंदै आगामी वर्ष तीनलाख ज्येष्ठ नागरिक लाभान्वित हुने गरी बजेटमा विनियोजन गरिएको छ।