रौतहटमा क्वारेन्टिन स्थल बनाउने क्रममा अवरोध हुँदा हवाई फायर
रौतहटको कटहरिया नगरपालिकामा नयाँ क्वारेन्टिन स्थल बनाउने क्रममा स्थानीयबाट अवरोध भएको छ। कटहरिया–१ स्थित भसेढवा माध्यमिक विद्यालयमा क्वारेन्टिन बनाउने क्रममा स्थानीयवासीले रोक्न खोज्दा झडपको अवस्था निम्तिएपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ।
दुई महीनायता सञ्चालनमा रहेको कटहरियाको जनता माविको क्वारेन्टिनमा मानिस नअटाएपछि भसेढवा माविलाई नयाँ क्वारेन्टिन बनाउन लागिएको थियो। तर, स्थानीयले अवरोध गर्दै ढुंगामुडा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको रौतहटका प्रहरी प्रमुख, एसपी रविराज खड्काले बताए।
ढुंगाले लागेर प्रहरी सहायक निरीक्षक (असई) हीरालाल साहलाई चोट लागेको छ।
कटहरियास्थित जनता माविको क्वारेन्टिनमा अत्यधिक चाप भएका कारण नयाँ क्वारेन्टिन आवश्यक भइसकेको कटहरियाका मेयर सियाराम कुशवाहा फिरोजले बताए। “अहिले नै क्वारेन्टिनमा १ सय ८७ जना छन्, नयाँ मानिसहरू थपिने क्रम जारी रहेकाले व्यवस्थापनमा समस्या भइरहेको छ”, उनले भने।
झडप भएको ठाउँको अवस्था अहिले सामान्य भएको छ। भसेढवा माविमा क्वारेन्टिन निर्माण भइरहेको स्थानीयले बताएका छन्।
- सञ्जय मित्र, रौतहट