कवि एवम् गीतकार रत्नशमशेर थापाको निधन
कवि एवम् गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
विगत तीन महीनादेखि ढाडको नशा सम्बन्धी समस्याले बिरामी रहेका उनलाई बुधबार सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा नर्भिकको आइसोलेसन वार्डमा उनको निधन भएको साहित्यकार प्रकाश सायमीले जानकारी दिए।
कोरोनाभाइरस जाँचको लागि उनको स्वाब लगिएको र साढे ६ बजे रिपोर्ट आएपछि मात्रै अन्त्येष्टि गरिने बताइएको छ।
थापाका 'चक्लाभरिको घाम', 'ताराका काँचा रङ' कवितासङ्ग्रह, 'ओभानो सिउँदो', 'रुझेका परेला' गीतसङ्ग्रह लगायत कृति प्रकाशित छन्।
उनले रचना गरेका 'जाग लम्क चम्क', 'ए कान्छा ठट्टैमा यो जोबन जान लाग्यो', ‘घुम्तीमा नआऊ है', 'गोरेटो त्यो गाउँको' लगायतका गीत चर्चित छन्। उनका गीतहरु नारायण गोपाल, प्रेमध्वज प्रधान लगायत अग्रज पुस्ताकादेखि नयाँ छिमलका गायक-गायिकाहरुसम्मले गाएका छन्।
थापाले देवकोटा साहित्य पुरस्कार, जगदम्बा-श्री, युगकवि सिद्धिचरण काव्य पुरस्कार लगायत पुरस्कार र सम्मान पाएका छन्।