संविधान संशोधनबारे छलफल गर्न कांग्रेसले शनिबार बोलायो बैठक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यालयमा सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ। लिम्पियाधुरा सहित समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको छ।
गएको १० जेठमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले दर्ता गराएको संविधान संशोधन विधेयकबारे कांग्रेसले छलफल बोलाएको हो। १३ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा विधेयकबारे पार्टीमा छलफल गर्नुपर्ने भन्दै सभापति शेबहादर देउवाले समय मागेका थिए।
सभापति देउवाले समय मागेपछि १४ जेठको संसद बैठकमै विधेयक पेश गर्ने कार्यसूची तय भएपनि अन्तिम समयमा स्थगित गरिएको छ। कार्यसूचीमा राखेर हटाइएको विधेयकबारे विभिन्न टिप्पणी भइरहेको छ।
मन्त्रिपरिषदको ६ जेठको बैठकले नेपालको नयाँ नक्सा पारित गरेको छ। सोही अनुसार, संविधानको अनुसूची–३ मा रहेको निशाना छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक दर्ता गरिएको छ।