स्वास्थ्य सचिवमा अर्याल, काेइरालाकाे प्रधानमन्त्री कार्यालयमा सरूवा
सरकारले स्वास्थ्य सचिवमा लक्ष्मण अर्यालको सरुवा गरेको छ । हालका स्वास्थ्य सचिव यादवप्रसाद कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका अर्याल यसअघि केही दिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको संयोजक थिए।
स्वास्थ्यमा सरुवा भएका अर्याल सीसीएमसीको सुरुवाती योजनाकारमध्ये एक हुन् । हिमालखबरसँगको सक्षिप्त कुराकानीमा उनले अवस्थाको मूल्यांकन गरेर स्वास्थ्य मन्त्रालयको भूमिका नागरिक तहमा पुर्याउने बताए।
उनले भने, “हो मलाई स्वास्थ्यको जिम्मेवारी दिइएको हो, नागरिकहरुले चाहे अनुसारको भूमिका स्वास्थ्यले निभाउने छ ।” उनले आफूले नागरिकको अनुहारलाई आँखा अगाडि राखेर काम गर्ने प्रतिक्रिया दिए ।
प्रधानमन्त्री कार्यालय सरूवा भएका सचिव कोइराला चार महीना अघिमात्र संघीय मामिला मन्त्रालयबाट स्वास्थ्यमा गएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली निकट उनी गृह मन्त्रालयका क्याडर हुन् । प्रदेश १ सचिव, गृहकाे सुरक्षा महाशाखा र प्रमुख जिल्ला अधिकारीकाे भूमिकामा सफल मानिएका यादवको स्वास्थ्य सचिवका रुपमा कार्यकाल विवादित रहयो । उनले औषधि खरीद प्रकरण र चिकित्सकहरुको खटनपटनमा आम संचारमाध्यममा दिएका प्रतिक्रियाले उनी विवादमा तानिएका थिए।