चौरजहारी घटना: भेरीकै किनारमा फेला पर्यो अर्का युवकको शव
रुकुम पश्चिमको चौरजहारी गाउँपालिका सोतीमा भएको घटनाका बेपत्ता अर्का युवकको शव फेला परेको छ । गएको शनिबार भएको उक्त घटनामा बेपत्ता दुई जनाको शव आइतबार, एक जनाको सोमबार र एकजनाको शव आज भेरी नदीको किनारमा सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो ।
भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलदेखि करीब १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएस्पी किशोर श्रेष्ठले जानकारी दिए । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढाका साथै चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परेको थियो ।
बेपत्ता भएका ६ जनामा भेरी नगरपालिका वडा नम्रब ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् ।