संविधान संशोधन विधेयक संसदमा पेश गरिदै
प्रतिनिधिसभा बैठक दिउँसो दुई बजे बोलाइएको छ । आगामी आर्थिक वर्षको बजेट आउनु अघिल्लो दिन बस्ने बैठकमा संविधान संशोधन (दोस्रो संशोधन) विधेयक–२०७७ पेश गर्ने कार्यसूची तय भएको छ।
संसद सचिवालयले राखेको संभावित कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गर्ने उल्लेख गरिएको छ। गएको ९ जेठमा संविधान संशोधन विधेयक दर्ता भएको छ।
लिम्पियाधुरा सहित समेटेर जारी गरिएको नेपालको नक्सा संविधानको अनुसूची–३ को निशाना छापमा समेट्न संविधान संशोधन गरिदैछ। संविधान संशोधन विधेयक संसदको सर्वसहमतिबाट पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक राखेका थिए। बैठकमा संसदमा सामेल दलहरुले संविधान संशोधनलाई समर्थन जनाउने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठकबाट यसबारे निर्णय लिने तयारी गरेको छ।
संसदको आजकै बैठकमा विवादित “नेपाल विशेष सेवा विधेयक, २०७६” टेबल गरिने कार्यसूचीमा राखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूचीमा समेत राखिएको छ।