चौरजहारी प्रकरणः वडाध्यक्ष सहित २० जना विरुद्ध किटानी जाहेरी
गएको १० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको हत्या प्रकरणमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जना विरुद्ध किटानी जाहेरी दिएका छन्।
वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगर लगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए।
दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन्। चौरजहारी नगरपालिका–८ का टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने अन्य दुई जनाको आज परीक्षण गरिने प्रजिअ पन्तले बताए।
हराएका तीन जनाको खोजी भइरहेको जनाइएको छ। खोजीमा स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान खटिएका छन् । गोताखोर लगायत प्राविधिक स्रोत साधन नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख प्रनाउ श्रेष्ठले बताए।
भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।
भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा तथा चौरजहारीका –८ का सुनारको शव यसअघि नै फेला परिसकेको छ।
घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ। वडाध्यक्ष सहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
“हत्या हो या भागदौडमा मृत्यु भएको हो अहिले नै भन्न सकिन्न, अनुसन्धानपछि यथार्थ विस्तारै खुल्छ” उनले भने, “शव परीक्षण रिपोर्टले पनि अनुसन्धानमा सहयोग पुग्ला।”