नेपाललाई मर्यादित महीनावारीको देशका रुपमा चिनाउने मन्त्री गुरुङको भनाइ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपाललाई विश्वसामु “मर्यादित महिनावारी” को देशको रुपमा स्थापित गराउने घोषणा गरेका छन् ।
विश्वले अहिलेसम्म छाउगोठ हुने देश भनेर नेपाललाई भन्ने गरेकाले अब सरकारले आवश्यक कानुन नियम बनाएर मर्यादित महिनावारीको देशको रुपमा स्थापित गराउने मन्त्री गुरुङले बताए ।
दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर मंगलबार गरिएको ‘लैंगिक हिंसा र मर्यादित महिनावारी’ विषय अन्तराष्ट्रिय भर्चुअल बैठकमा मन्त्री गुरुङले यस सम्बन्धी आवश्यक ऐन, नियम, निर्देशिका र नियमावली बनाउने कामलाई तीव्रता दिएको बताए ।
कोरोनाभाइरसको जोखिमका कारण १३ देखि १५ जेठसम्म गर्ने भनिएको ‘मर्यादित महिनावारी सम्बन्धि अन्तराष्ट्रिय कार्यशाला गोष्ठी’ स्थगित भएपछि आज दुई घण्टा भर्चुअल छलफल गरिएको हो ।
छलफलमा संघीय संसदको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले सरकारले छाउपडी प्रथा जस्तो सामाजिक कलंकको अन्त्यका लागि मर्यादित महिनावारी जस्तो अवधारणा सरकारले अघि सार्नु महत्वपूर्ण भएको बताइन् ।
यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिनावारीलाई मर्यादित बनाउन सरकारले महिलाहरुकै अग्रसरतामा खुलाबहसको थालनी गर्नुपर्ने सुझाव दिए ।
मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले महिनावारीलाई मर्यादित बनाउन मन्त्रालयले प्रदेश र स्थानीयतहसँग सहकार्य गरेर अघि बढ्ने बताइन् ।
बैठकमा मर्यादित महिनावारीकी अभियन्ता राधा पौडेलले महिनावारीसँग महिनावारी प्राकृतिक कुरा भएकाले यसलाई हिंसा र विभेद नभई मर्यादित बनाउनुपर्ने भन्दै यसलाई मानवअधिकारसँग जोडेर बहस गर्नुपर्ने बताइन् ।
छलफलमा विभिन्न देशका प्रतिनिधिहरु पनि सहभागी थिए ।