समस्यामा परेका नागरिकको कोठामै राहत पुर्याउँदै सांसद किराँती
बन्दाबन्दी शुरु भएदेखि भोजपुरका सांसद सुदन किराती समस्यामा परेका नागरिकको सहयोगमा जुटिरहेका छन्।
उनले विभिन्न जिल्ला घर भई काठमाडौं उपत्यकामा बसोबास गरिरहेका र बन्दाबन्दीको कारण समस्यामा परेका नागरिकहरुको कोठाकोठामै राहत पुर्याइरहेका छन्। व्यक्तिगत खर्चबाट शुरु गरेका सांसदलाई अहिले विभिन्न व्यक्तिहरुले साथ दिइरहेको उनले बताए। उनका अनुसार मंगलबारसम्म रु.१६ लाखभन्दा बढीको राहत वितरण गरिसकेका छन्।
सांसद किराती भन्छन् “मैले गरिरहेको सहयोग पर्याप्त होइन, तर चुलो नै नबल्नुभन्दा जाउलो भए पनि खान पाऊन् भन्ने कोशिस हो। मेरो प्रयासमा अहिले व्यवसायी, समाजसेवी, कर्मचारी तथा कलाकारहरु पनि जोडिनुभएको छ।”
समस्यामा परेका भोजपुर जिल्लाका नागरिकलाई उद्धार गर्ने तयारी गरिरहेको वेला सरकारले बन्दाबन्दी कडाइ गरेपछि अन्य जिल्लाका नागरिकहरुलाई पनि राहत वितरण गरिरहेको उनले बताए।
सरकारले एकद्वार प्रणालीबाट राहत वितरणलाई गर्ने भने पनि आवश्यक कागजात नहुँदा धेरैले राहतबाट वन्चित हुनुपरेको र आफु पनि जनप्रतिनिधि भएकोले व्यक्तिगतरुपमा राहत वितरणमा अघि सरेको बताए।
उनले अहिलेसम्म करिब एक हजार परिवारमा राहत पुर्याएका छन् । सांसद किरातीले कम्तिमा पन्ध्र दिनसम्म पुग्ने गरी २ देखि ४ जनासम्मको परिवारलाई २५ देखि ३० केजि, ५ देखि ७ जनासम्मको परिवारलाई ५० देखि ६० केजीको दरले चामल दिएका छन् भने १२ जनासम्म बसिरहेका मजदुरहरुलाई एक सय ३० केजीसम्म चामल सहयोग गरेको बताए।
उनले सुत्केरी, गर्भवती, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा र परिवार संख्या धेरै भएकालाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिरहेको जानकारी दिए।
किराती भोजपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपाका सांसद हुन्।