कोरोना संक्रमण बढेपछि रौतहटका दुई नगरपालिका सिल
रौतहटमा कोरोनाभाइरसको अत्यधिक संक्रमण देखिएका दुई नगरपालिकालाई स्थानीय प्रशासनले सिल गरेको छ।
राजपुर र इशनाथ नगरपालिकालाई अर्को आदेश नभएकासम्मका लागि सिल गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। उनका अनुसार, दुवै नगरपालिका सिल गरिएसँगै निषेधाज्ञा पनि जारी गरिएको छ।
जिल्लामा सबैभन्दा बढी संक्रमित राजपुर र इशनाथ नगरपालिकाका छन्। दुवै नगरपालिकाको क्वारेन्टिनमा अझै करीब एक हजार पाँच सय मानिस छन्।
मंगलबार मात्रै रौतहटमा २२ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये देवाही गोनाही नगरपालिकाका १२, गौर नगरपालिकाका ८ जना तथा गरुडा र राजदेवी नगरपालिकाका एक÷एक जना छन्। यसअघि गएको आइतबार रौतहटमा २६ जनामा संक्रमण पुष्टि भएको थियो।
जिल्लाका अन्य स्थानीय तहमा सर्वसाधारणको चहलपहल निकै बढेको छ। आवागमन बढ्न थालेपछि बन्दाबन्दी कडा बनाउन स्थानीयले माग गरेका छन्।
- सञ्जय मित्र, रौतहट