संसद्मा भोलि संविधान संशोधन प्रस्ताव पेश हुने कार्यसूची
संसद्मा बुधबार संविधान संशोधन प्रस्ताव पेश हुने भएको छ। प्रतिनिधिसभा सचिवालयले प्रकाशन गरेको बुधबारको संभावित कार्यसूचीमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने उल्लेख छ।
लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर सरकारले नयाँ नक्शा जारी गरेपछि निशानछापमा नयाँ नक्शा राख्न संविधान संशोधन गर्न लागिएको हो। यसका लागि सरकारले संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराइसकेको छ।
मन्त्री तुम्बाहाङ्फेले ९ जेठमा संविधानको अनुसूची ३ संशाेधनका लागि संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। संविधानको अनुसूची–३ मा राखिएको निशान छापमा नेपालको नक्शा अंकित छ।
यसअघि मंगलबारकै संसद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिए पनि संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेर मात्र गर्ने भएकाले अन्तिम समयमा आएर एक दिन पछाडि सारिएको हो।