मापसे गरेर टिप्पर चलाएका चालकले भक्तपुरमा लिए प्रहरीका सईको ज्यान
मदिरा पिएर तीव्र गतिमा चलाएको टिप्परको ठक्करबाट भक्तपुरमा ड्युटीमा खटिएका प्रहरीका नायब निरीक्षक (सई) निमबहादुर घर्तीको मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पानी परेर चिप्लो सडकमा प्रतिस्पर्धा गर्दै आएका दुई टिप्परले शुरुमा रेलिङ र पछि सई घर्तीलाई ठक्कर दिएका थिए।
प्रहरीका अनुसार सोमबार राति साढे नौ बजे मध्यपुर ठिमीस्थित बालकुमारी चोकमा दुर्घटना भएको हो। अस्पतालले घर्तीलाई मंगलबार बिहान सवा ५ बजे मृत घोषणा गरेको हो। उनी इलाका प्रहरी कार्यालय रुकुमकोट पूर्वी रुकुम दरबन्दी भई हाल महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर अन्तर्गत क्विक रेसपोन्स भ्यान (सीआरभी) मा कार्यरत थिए।
प्रहरीका अनुसार, काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेका बा ४ ख ४७०१ र पछिपछि सँगै आउँदै गरेको बा ४ ख ४३१८ नम्बरको टिप्पर एकैसाथ नयाँ ठिमी बालकुमारी चोकको बीचको रेलिङलाई हान्दै अनियन्त्रित भई अगाडि बढेको थियो। त्यसपछि ड्युटीमा रहेका सई घर्तीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।
तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले टाउकोमा गम्भीर चोट लागेका घर्तीलाई मध्यपुर ठिमी अस्पताल भक्तपुरमा प्राथमिक उपचार गराई थप उपचारका लागि नर्भिक अस्पताल थापाथली लगेको थियो। नर्भिकले मंगलबार बिहान उनलाई मृत घोषणा गरेको थियो।
भक्तपुर परिसरका अनुसार, चालकहरुको स्वास्थ्य परीक्षण गराउँदा बा ४ ख ४३१८ नम्बरका चालक राकेश सैंजुले मादक पदार्थ सेवन गरेको खुलेको थियो। प्रहरीले बा ४ ख ४७०१ नम्बरको टिप्पर चालक धादिङ थाक्रे गाउँपालिका–८ बस्ने राजेन्द्र प्याकुरेल र सैंजुलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ।