टिप्पणी मंगलबार, जेठ १३, २०७७

अनलाइन शिक्षामा रोक : क्रान्तिकारी सरकारको थोत्रो बुद्धि

हिमालखबर

अनलाइन शिक्षामा रोक : क्रान्तिकारी सरकारको थोत्रो बुद्धि

प्रविधिको माध्यमबाट पढाउन सकिंदैन भन्ने विद्यालय र शिक्षकहरू सुतेका छन्। यस्तै, अनलाइन शिक्षालाई शैक्षिक सत्रको रूपमा अगाडि नबढाउन भन्ने सरकारले थोत्रो बुद्धि प्रदर्शन गरेको छ।

प्रा. डा. विद्यानाथ कोइराला

कोरोनाभाइरस महामारी र लकडाउन (बन्दाबन्दी) ले पठनपाठन अवरुद्ध भएपछि अहिले विद्यार्थी र अभिभावक निकै अन्योलमा छन्। पढाइले कसरी निरन्तरता पाउला भन्ने प्रश्न पेचिलो बनिरहेको छ। रोकिएको पठनपाठन अगाडि बढाउनेबारे सरकारबाट स्पष्ट कुरा नआउँदा शिक्षण संस्थाहरू पनि अलमलिएका छन्।

विद्यार्थीलाई शिक्षाबाट वञ्चित गर्न हुँदैन। तर, महामारीको प्रभाव रहेको यो वेला परम्परागत शैली अर्थात् विद्यालयमा विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा अध्यापन गराउन सम्भव छैन। तसर्थ प्रविधिको विकासलाई शिक्षा क्षेत्रमा बढीभन्दा बढी प्रयोग गर्नुपर्ने उत्तम समय आएको छ। अहिलेको प्रतिकूल समयमा प्रविधिको प्रयोग गरेर पढाउनुको विकल्प नै छैन।

हामीले यो वेला पनि प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई शैक्षिक गतिविधिमा सहभागी गराउन सकेनौं भने धेरै पछाडि धकेलिनेछौं। समय अनुसारको प्रविधि, उपाय अपनाउँदै शिक्षालाई उकास्न जरुरी छ।

अहिले सबै प्रधानाध्यापक र शिक्षक तात्ने हो भने तत्कालै शैक्षिक सत्र शुरुआत गर्न सकिन्छ। प्रविधिमा सबैको पहुँच विस्तार गर्न विभिन्न तहमा ‘नेटवर्किङ डिजाइन’ गर्नुपर्छ। कतिपय भौतिक उपस्थितिमै पढाउनुपर्ने पाठहरू पनि होलान्, तिनका लागि अवस्था सामान्य आएपछि विशेष कक्षा सञ्चालन गर्न सकिन्छ।

अहिले विद्यार्थीलाई पढाउन प्रविधिमा सबैको पहुँच नभएको, आवश्यक पाठ्यसामग्रीको अभाव भएको जस्ता समस्या औंल्याउने गरिएको छ। अहिले पनि सकिंदैन भने कहिले सकिन्छ ? सम्भव आफैं हुने होइन, बनाउने हो।

उपलब्ध भएका प्रविधिको प्रयोग गरेर विद्यार्थीको पढाइलाई निरन्तरता दिनुपर्छ। प्रविधि भनेको कम्प्युटर, ल्यापटप, इन्टरनेट मात्रै होइन, अनलाइन बाहेक पनि प्रिन्ट, सीडी, डीभीडी, मोबाइल, पेनड्राइभ, रेडियो, टेलिभिजनबाट पाठ्यसामग्री उपलब्ध गराउन सकिन्छ। यी कुनै पनि सामग्री र माध्यममा पहुँच नभएकाहरूको लागि प्रत्येक टोलमा एक जना शिक्षक राखेर पञ्जा र मास्क लगाई सामाजिक दूरी कायम गर्दै अध्यापन गराउन सकिन्छ।

अहिले सबै प्रधानाध्यापक र शिक्षक तात्ने हो भने तत्कालै शैक्षिक सत्र शुरुआत गर्न सकिन्छ। प्रविधिमा सबैको पहुँच विस्तार गर्न माथि उल्लेख गरिए झैं विभिन्न तहमा ‘नेटवर्किङ डिजाइन’ गर्न काम गर्नुपर्छ। कतिपय भौतिक उपस्थितिमै पढाउनुपर्ने पाठहरू पनि होलान्, तिनका लागि अवस्था सामान्य आएपछि विशेष कक्षा सञ्चालन गर्न सकिन्छ।

पाठ्यसामग्री विद्यालय र शिक्षकले तयार पार्नुपर्छ। विद्यालयले सम्बन्धित विषयको शिक्षकलाई भन्न सक्नुपर्छ, ‘तिमीले पढाउने विषयको पाठ्यसामग्री सबै तरिकाबाट पढ्न र सुन्न सकिने गरी बनाऊ।’ पाठ्यसामग्रीमा एकरूपता ल्याउन शिक्षक संगठनहरू, शिक्षाको जिम्मा लिएका व्यक्तिहरु र राजनीतिक दलका नेताहरु एकजुट भएर लाग्नुपर्छ।

सरकारको अनावश्यक तगारो

कतिपय विद्यालयहरूले अनलाइन माध्यमबाट विद्यार्थीलाई पढाउन थालिसकेका छन्। यसैबीच, सरकारले अनलाइन शिक्षालाई शैक्षिक सत्रको रूपमा अगाडि नबढाउन भनेको छ। सरकारले यो नचाहिने कुरा गरेको हो।

प्रविधिमा पहुँच हुने र नहुनेको बीचमा 'डिजिटल ग्याप' बढ्छ भनेर सरकारले अनलाइन शिक्षालाई शैक्षिक सत्रको रूपमा अगाडि नबढाउन भनेको मैले बुझेको छु। यसलाई ‘क्रान्तिकारी सरकारको थोत्रो बुद्धि’ भन्छु। विद्यालय तथा शिक्षकहरूले आफ्नो क्षमता र सोचले अगाडि बढाएको शिक्षालाई शैक्षिक सत्रको रूपमा अगाडि नबढाउनु भनेर समाधान हुँदैन। बरु डिजिटलको पहुँचमा नभएकालाई कसरी ल्याउने वा विकल्पको रुपमा कसरी अगाडि जान सकिन्छ भनेर उपाय खोज्ने र छलफल गर्ने हो।

कुनै पनि विद्यालय र शिक्षकले प्रविधिको माध्यमबाट पढाउन नसक्ने भन्ने हुँदै हुँदैन। सम्भव छैन भन्न मिल्दैन। जसले भनिरहेका छन्, उनीहरू सुतेका छन्। सक्दिनँ भन्ने प्रधानाध्यापक, शिक्षकलाई सुतेकाले सक्दैन भन्छन् भन्ने गरेको छु।

पछिल्लो समय मैले विभिन्न ठाउँका शिक्षकहरूसँग नियमित रूपमा कुराकानी गरिरहेको छु। कतिपय शिक्षक साथीहरूले सकिंदैन भन्दै हुनुहुन्थ्यो। मैले ‘तपाईं सुतेको शिक्षक हो’ भनें। कसरी भनेर प्रश्न गर्नुभयो। मैले ‘तपाईंका कति प्रतिशत विद्यार्थी इन्टरनेट, मोबाइल, रेडियो, टेलिभिजनमा पहुँच नभएका छन्, बुझ्नुभएको छ ?’ भनेर सोधें।

कुनै पनि विद्यालय र शिक्षकले प्रविधिको माध्यमबाट पढाउन नसक्ने भन्ने हुँदै हुँदैन। सम्भव छैन भन्न मिल्दैन। जसले भनिरहेका छन्, उनीहरू सुतेका छन्। सक्दिनँ भन्ने प्रधानाध्यापक, शिक्षकलाई सुतेकाले सक्दैन भन्छन् भन्ने गरेको छु।

उहाँहरूबाट अधिकांश पहुँचमा रहेको जवाफ आयो। त्यसपछि उहाँहरूलाई मेसेन्जर, भाइबर, जूम जस्ता एप तथा रेडियो, टेलिभिजनबाट दिन सकिने पाठ्यसामग्री यी माध्यममा पहुँच नभएकालाई प्रिन्टका रूपमा तयार पार्न सक्नुहुन्न त भनेर सोधें। सक्छौं भनेर कतिपय शिक्षकहरूले त्यसरी काम थाल्नुभएको छ।

प्रतिकूल स्थितिमा सिकाइलाई कसरी निरन्तरता दिन सकिन्छ भनेर शिक्षकहरू आफैं स्वतःस्फूर्त अग्रसर पनि भइरहेका छन्। सामाजिक शिक्षा पढाउने शिक्षकहरूको सञ्जाल बनेको रहेछ। त्यो सञ्जालले विद्यार्थीको लागि प्रविधिमैत्री पाठ्यसामग्री तयार गरिरहेको रहेछ।

शिक्षक आफैंमा सिर्जनात्मक हुन्छन्। अहिले उहाँहरुलाई जागरुक बनाउन जरुरी छ। आफैं तातेका केही प्रतिशत शिक्षकहरु छन्। ती सबैलाई क्रियाशील बनाउने हो भने माहौल बन्छ।

प्रविधि मार्फत सिकाइ कति प्रभावकारी ?

अहिले धेरै नेपालीहरू विश्वका विभिन्न विश्वविद्यालयमा अनलाइन कक्षा पढिरहेका छन्। हामी चाहिं प्रभावकारी हुँदैन भनेर बसिरहेका छौं। विद्यार्थीलाई अन्योल र निस्क्रिय राखेर समय खेर फालिरहेका छौं।

प्रविधिको प्रयोगबाट पढाउँदा सिकाइको प्रभावकारिताबारे कतिपयले शंका र प्रश्न गरिरहेका छन्। यो नचाहिने चिन्ता हो। संसारका अरु देशले प्रविधि मार्फत पढाउँदा प्रभावकारी हुने, नेपालमा भने नहुने भन्ने हुँदैन। भौतिक रूपमा कक्षामा जम्मा भएर पढिरहेको बानीका कारण प्रविधिको माध्यमबाट पढ्न शुरूमा अलि असहज होला। बिस्तारै अभ्यस्त हुँदै जाँदा बानी हुन्छ। आफैं प्रभावकारी हुने होइन, बनाउनुपर्छ।

अहिले धेरै नेपालीहरू विश्वका विभिन्न विश्वविद्यालयमा अनलाइन कक्षा पढिरहेका छन्। हामी चाहिं प्रभावकारी हुँदैन भनेर बसिरहेका छौं। विद्यार्थीलाई अन्योल र निस्क्रिय राखेर समय खेर फालिरहेका छौं।

केही दिनअघि नेता गगन थापाले ‘आमनेसामने पठनपाठनको विकल्प अनलाइन शिक्षा हुन सक्दैन’ भनेको सुनें। अचम्म लाग्यो। आजका युवा नेताले प्रविधिको समयमा अनलाइन शिक्षा उपयुक्त छैन भन्नु देशका लाखौं विद्यार्थीलाई शिक्षाबाट वञ्चित गर्न खोज्नु हो। उनले त अनलाइन पहुँच भएकाको लागि अनलाइन कक्षा, नभएकाहरुको लागि कस्तो उपाय हुनसक्छ भनेर विकल्प खोज्ने र छलफल गर्ने हो।

अहिले त झन् सबैतिर सेमिनार, वेबिनार जस्ता महत्वपूर्ण छलफलहरू प्रविधि मार्फत चलिरहेको छ। त्यसैले सिकाइमा प्रविधिको प्रयोग प्रभावकारी नहुने प्रश्नै छैन। म सम्भव देख्छु, र यसको प्रभावकारिता पनि देख्छु।

अर्कोतिर, ठूला उमेरका भन्दा साना बालबालिकामा प्रविधि मार्फत दिइने शिक्षाको कम प्रभावकारी हुने भन्दै चिन्ता गरिंदैछ। तर यथार्थ के हो भने, ठूलालाई भन्दा सानालाई प्रविधि मार्फत दिइएको शिक्षा बढी प्रभावकारी हुन्छ। उनीहरूमा सिक्ने क्षमता बढी हुन्छ। उदाहरणका लागि, रुपन्देहीकी १२ वर्षीया तेरिया मगर टेलिभिजन हेरेर सिकेको नृत्य प्रस्तुत गरेर प्रतियोगितामा प्रवेश मात्रै पाइनन्, पहिलो नै भइन्।

हामी सबैले याद गरेको हुनुपर्छ, साना बालबालिका भएको घरमा आमाबुवाको मोबाइलको फङ्सनबारे बालबालिकालाई नै बढी थाहा हुन्छ। त्यो पनि एकछिन चलाएकै भरमा उनीहरूले सिकिसक्छन्। आजभोलिका बालबच्चालाई क, ख वा ए, बी, सी सिकाइरहनुपर्दैन, यूट्यूबमा हेरेर आफैं सिक्छन्। टीभीमा हेरेर, ल्यापटप, कम्प्युटर वा आइप्याडमा हेरेर अंग्रेजी, हिन्दी बोल्न जान्ने भएका छन्। प्रविधिमा त्यस्तो तागत छ भने प्रभावकारी हुँदैन भन्ने कुरै छैन।

प्रविधि मार्फत दिइने शिक्षाको भर्ना प्रक्रिया कसरी गर्ने भन्नेबारे काठमाडौं नक्साल बालमन्दिरको उदाहरण दिने गरेको छु। बालमन्दिरमा विद्यार्थी भर्ना गर्न निश्चित समय र उमेर तोकिएको छैन। विद्यार्थीको क्षमता हेरेर त्यसै अनुसार कक्षामा राखिन्छ। त्यही प्रक्रिया प्रविधि मार्फत हुने शिक्षामा पनि अबलम्बन गरेर अगाडि बढ्न सकिन्छ।

प्रस्तुति: नुनुता राई

प्रतिकृया दिनुहोस