भारतका मन्दिरमा दुई हजार टन सुन, कोरोना संकटमा चलाउने विषयमा कांग्रेस–भाजपा नेताबीच विवाद
सन् २०११ मा केरलको पद्मनाभस्वामी मन्दिरमा २२ अरब डलर बराबरको खजाना भेटियो । यसमा सुन, चाँदी, हीरा लगायत प्राचीन आभूषण थिए । यी पाँच वटा स्थलको उत्खननबाट भेटिएको हो । सर्वोच्च अदालतमा मुद्दा परेपछि सबैभन्दा ठूलो छैठौँ स्थल उत्खनन भएकै छैन ।
प्रसिद्ध तिरुपति बालाजी मन्दिरमा प्रत्यके साता औसत १० किलो सुन चढाइन्छ । उक्त मन्दिरमा २०० टन सुन भएको अनुमान छ ।
भारतका मन्दिरमा भएको अथाह सुनलाई प्रयोग गर्ने विषयमा महाराष्ट्रका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता पृथ्वीराज चौहानले दुई हप्ताअघि ट्विटपछि भारतीय राजनीति तातेको छ । उनले लेखेका छन्, “विश्व सुन परिषद्का अनुसार भारतका धार्मिक ट्रस्टसँग एक ट्रिलियन डलर (७६ लाख करोड) को सुन छ, भारत सरकारले यी सबै ट्रस्टका सुन तुरुन्त प्रयोग गर्नुपर्छ । आपतकाल जस्तो यो अवस्थामा सरकारले कम ब्याजदरमा यी सुन उधारो लिन सक्छ ।”
विश्व सुन परिषद्का अनुसार भारतका मन्दिरहरुमा दुई हजार टन सुन भएको उल्लेख गरेको छ । फरक–फरक अनुमान अनुसार भारतका मन्दिरमा तीनदेखि चार हजार टन सुन भएको बताइन्छ । परिषद्कै तथ्याङ्क मान्ने हो भने मन्दिरमा भएको सुन भारतीय रिजर्ब ब्याङ्कसँग भएको भन्दा तीन गुणा धेरै हो । परिषद्को जुन २०१९ को प्रतिवेदन अनुसार रिजर्ब ब्याङ्कसँग ६१८ टन सुन छ ।
कांग्रेस नेता चौहानले उक्त सुन प्रयोग गर्नुपर्ने विचार राखेपछि उनीविरुद्ध ट्विटमै भाजपा नेताहरु सशक्त विरोधमा लागेका छन् । भाजपाबाट राज्यसभा सांसद राकेश सिन्हाले लेखेका छन्, “के कांग्रेस आफ्ना नेता चौहानको विचारमा सहमत छ कि मन्दिरका सुन झिक्नुपर्छ ? के पृथ्वीराज चौहान एक्लै कैथेड्रल चर्चको सात हजार करोड रुपैयाँ बराबरको जमिन, जसको अनुमानित सम्पत्ति ६० लाख करोड छ, त्यसको पनि प्रयोग गर्ने कुरा एक्लै गर्न सक्छन् ?”
यो बहस दुई हप्तादेखि अहिले पनि जारी छ । के मन्दिरका सम्पत्ति कोरोनाभाइरसको आहतमा अर्थव्यवस्था टिकाउन उपयोग गर्न सकिन्छ ? यो प्रश्नको जवाफमा सामाजिक सञ्जाल प्रयोगकर्ता आफ्नै तरिकाले बहस गरिरहेका छन् ।
सरकारको पहुँचभन्दा बाहिर छ सुन
२२ डिसेम्बर २०१५ मा राज्यसभा सांसद रन्जिब विश्वालले सरकारसँग भारतका मन्दिरमा भएको सुनको अनुमानित तथ्याङ्क मागेका थिए । तर, त्यहाँको वित्त मन्त्रालयले मन्दिरहरुको भण्डारमा भएको सुनबारे कुनै तथ्याङ्क नभएको जवाफ दिएको थियो । सन् २०१५ मा नै प्रधानमन्त्री नरेन्द्र मोदीले सुनलाई मुद्रामा परिवर्तन गर्ने योजना सार्वजनिक गरेर घर र मन्दिरमा भएका सुन बाहिर निकाल्ने प्रयास गरेका थिए ।
त्यही वर्ष आकाशवाणीबाट प्रसारित ‘मनको कुरा’ कार्यक्रममा उनले भनेका थिए, “सुनलाई ‘मृत पैसा’ का रुपमा राख्नु आजको युगमा शोभा दिँदैन । अब घरमा राख्नुको साटो ब्याङ्कमा दिएर त्यसको सट्टा ब्याज लिएर आफ्नै र देशको आर्थिक रुपले मजबूत बनाउँ ।”
मोदीको आह्वानपछि केही मन्दिर सुन दिन तयार पनि भएका थिए । ती मन्दिरले ब्याङ्कहरुमो सुन राखेका थिए । तर, अधिकांश मन्दिरका ट्रस्टले यसमा कुनै रुचि राखेनन् । त्यसैले कांग्रेस नेता चौहानले उठाएको विषय नयाँ होइन । तर, हिन्दूवादी संगठन र मन्दिरहरु भने यसको विपक्षमा छन् ।
मन्दिरमा रहेका सुनको तथ्याङ्क खोज्ने प्रयास यसअघि पटकपटक भए पनि सफल भएको छैन । डिसेम्बर २०१३ मा भारतीय रिजर्व ब्याङ्कले देशभरका मन्दिरका ट्रस्टसँग सुनको तथ्याङक मागेको थियो । तर, त्यस बेला पनि हिन्दू संगठन र मन्दिरका ट्रस्टले आपत्ति मात्र जनाएनन् कि तथ्याङ्क पनि दिएनन् ।
अहिले पनि मन्दिरका पुजारीको भनाइ छ कि भक्तले सुन भगवानलाई चढाएका हुन् । त्यसैले ट्रस्टले सुन सरकारलाई उधारोमा दिएर भक्तको विश्वास तोड्न हुँदैन ।
वाणिज्य विज्ञहरुले भने हाल सरकारलाई मन्दिरको सुन लिनुपर्ने अवस्था नभएको बताएका छन् । विज्ञ अजय केडियाले मन्दिरको सहायताले सरकारले सुनको मौजाद बढाउन सक्ने बताएका छन् ।
भारतले पछिल्ला तीन वर्षदेखि वर्षेनि औसत ७५० टन सुन खरिद गर्छ । मन्दिरको सुन लिने हो भने अरु तीनदेखि चार वर्ष सुन आयात गर्नु जरुरी नहुने केडिया बताउँछन् । मन्दिरको सुनलाई उधारोमा लिएर मौद्रिकरण गर्नु राम्रो भएको उनको भनाइ छ ।
-दैनिक भाष्करबाट