अब हातैले नछोई स्यानिटाइजर, नेपालमा पनि वितरण गरिने
दक्षिण भारतको ग्रिनटेक कम्पनीले हातले नछोई स्यानिटाइजर प्रयोग गर्न सकिने उपकरण बनाएको छ । कम्पनीले यसलाई ‘ह्याण्डस्–फ्री मेकानिकल स्यानिटाइजिङ डिस्पेन्सर’ नाम दिएको छ ।
जारी कोभिड–१९ महामारी रोकथामका लागि बारम्बार स्यानिटाइजर र साबुन–पानीले हात सफा गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।
तर, फरक–फरक व्यक्तिले एउटै स्यानिटाइजर प्रयोग गर्दा हातको स्पर्शबाट संक्रमणको जोखिम बढ्न सक्ने हुँदा कम्पनीले यस्तो उपकरण बनाएको हो ।
आवश्यकता अनुसार चार फिटसम्म उचाइ घटबढ गर्न सकिने यो उपकरणमा खुट्टाको सहायताले पेडल दबाएर एयर पम्पिङ प्रणालीद्वारा माथि राखिएको स्यानिटाइजर हात नचलाइनै प्रयोग गर्न सकिन्छ । उपकरणमा ३ लिटरसम्मका स्यानिटाइजरको बोतल राख्न सकिन्छ ।
यो उपकरण खिया प्रतिरोधी र आगोले नटिप्ने पनि बताइएको छ ।
कम्पनीकी इञ्जिनियर प्रभा राईका अनुसार, अहिले कम्पनीले सीमित परिमाणमा उत्पादन गरेको यो उपकरण नेपालमा पनि वितरणको तयारी गरिरहेको छ । “कोभिड–१९ को रोकथाममा यो उपकरण नेपालमा पनि पक्कै सहयोगीसिद्ध हुने विश्वासका साथ यसको वितरणको योजना बनाएका हौं”, राईले भनिन्, “आवश्यकताका अनुसार थप उपकरण उत्पादन गर्ने योजना बनाएका छौं ।”
कम्पनीका अनुसार अस्पताल, मल, स्कुल, स्टोर, कार्यालय र घरमा समेत उपयोगी मानिएको यो उपकरणको मूल्य करीब रु. ४,८५० पर्नेछ ।