खेलकुद सोमबार, जेठ १२, २०७७

सन्दीप लामिछानेको सफलता पछ्याउँदै कुशल मल्ल

हिमालखबर

सन्दीप लामिछानेको सफलता पछ्याउँदै कुशल मल्ल
अमेरिका विरुद्धको खेलमा कीर्तिमानी अर्धशतक बनाएपछि कुशल।

युनाइटेड अरव इमिरेट्स (यूएई) बाट प्रकाशित हुने द न्याशनलले १९ वर्ष मुनिका उत्कृष्ट २० युवा क्रिकेटरको नाम सार्वजनिक गरेको छ । उक्त सूचीमा नेपालका सन्दीप लामिछाने पर्नु स्वभाविकै हो।

किनभने, तीन वर्ष यता राष्ट्रिय टीमका भरपर्दा र महत्वपूर्ण सदस्य रहेका सन्दीप अन्तर्राष्ट्रिय फ्रेन्चाइजीमा सनसनी मच्याइरहेका छन्।

तर, उक्त सूचीमा यसपटक सन्दीप सँगै नेपालका अर्का युवा क्रिकेटरको नाम पनि समावेश छ । १६ वर्षका बायाँ हाते ब्याट्सम्यान कुशल मल्ल उत्कृष्ट २० युवा क्रिकेटरमा परेका हुन्।

उत्कृष्ट २० मध्ये १६ जना त टेष्ट राष्ट्रका क्रिकेटर छन्। एसोसियट राष्ट्रबाट भने नेपालका सन्दीप र कुशल सँगै युएई र स्कटल्याण्डका एक–एक क्रिकेटर छन् । अर्थात्, सन्दीपकै सफलताको बाटोमा कुशल अघि बढ्ने संकेत देखिएको छ।

कुशलले गएको सेटेम्बरमा जिम्बाबे विरुद्ध टी–२० र फेब्रुअरी पहिलो साता अमेरिका विरुद्धको एक दिवसीय मार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन्। उनले अमेरिका विरुद्धको खेलमा सनसनी मच्याएका थिए।

 

सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको विश्व कीर्तिमान कुशलले तोडेका थिए। उनले एक दिवसीय तर्फ अर्धशतक बनाउँदा १५ वर्ष ३४० दिनका मात्रै थिए। कुशल कम उमेरमा एक दिवसीयमा अर्धशतक बनाउने कीर्तिमानी खेलाडी हुन्।

लेफ्ट आर्म अफ स्पिनर कुशल किफायती बलर र आक्रामक ब्याट्सम्यानका रुप राष्ट्रिय टीमबाट खेल्दै आएका छन्।

उनले तीन एक दिवसीय र ६ टी–२० क्रिकेट खेलेका छन्। कुशल नेपाली क्रिकेटका भेट्रान शक्ति गौचनका चेला हुन्।

प्रतिकृया दिनुहोस