उद्योग व्यवसायलाई सरकारले राहत दिने
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण क्षति पुगेका उद्योग व्यवसायलाई सरकारले राहत सुविधा दिने बताएका छन् । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले औद्योगिक व्यावसायिक क्षेत्रका लागि सरकारले राहत सुविधा दिने विषयमा तयारी गरिरहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले कर सहुलियत, शुल्क मिनाहा, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता, विद्युत महशुलमा छूट लगायतका सुविधा दिने बताएका हुन् । १५ जेठमा आउने बजेट मार्फत यस्तो राहत घोषणा गरिने तयारी छ । निजी क्षेत्रले महामारीको मारमा परेका उद्योग व्यवसायका लागि सहुलियत ऋण, ब्याजमा अनुदान लगायतका माग राख्दै आएका छन्।
प्रधानमन्त्री ओलीले निजी क्षेत्र सबल नहुँदासम्म अर्थतन्त्र सबल नहुने कुरा सरकारले राम्रोसँग बुझेकाे पनि बताए । उनले शिथिल बनेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले प्रस्तुत गर्ने पनि बताए।
त्यस्तै, स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्दै सरकारले थप उद्योग तथा पूर्वाधार आयोजना सुचारु बनाउने तयारी गरेको छ । नियन्त्रणको सीमाभित्र रहनसक्ने उद्योगलाई सञ्चालन अनुमति दिने प्रधानमन्त्री ओलीले बताएका हुन्।
जुन जिल्लाका श्रमिक भएपनि कोरोना परीक्षण गरी सम्बन्धित उद्योग तथा पूर्वाधार आयोजना भएका ठाउँमा ल्याएर आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्दै उद्योग तथा निर्माणका गतिविधि सुचारु गर्ने प्रधानमन्त्री ओलीले बताएका हुन्।
दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने तथा आन्तरिक उत्पादन वृद्धिका लागि कच्चा पदार्थदेखि उत्पादित वस्तुको बजारसम्मको शृंखला टुट्न नदिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन्।