डब्लूएचओको प्रोटोकल अनुरुप परीक्षण नहुँदा संक्रमण फैलियो: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले भारतबाट आउनेहरूका कारण कोरोना संक्रमण फैलिएको बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षणबिना नै आएकाले संक्रमण फैलिएको बताएका हुन्।
"विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गरेको भए महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो", उनले भने, "तर, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ । परीक्षणको अभावमा महामारी तीव्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ।"
उनले कोही पनि सुखले विदेशमा काम गर्न नजाने भन्दै देश फर्किएकाहरूलाई समयमै आफ्नो परीक्षण गराउन पनि आग्रह गरे ।
विदेशबाट फर्किएकाहरूको आत्मसम्मानमा ठेस पुग्नेगरी कसैलाई पनि नबोल्न र व्यवहार नगर्न पनि आग्रह गर्दै उनले घर फर्किएकाहरुलाई चिकित्सकको सल्लाहअनुसार क्वारेन्टिनमा बस्न पनि आग्रह गरे ।
ओलीले विश्वव्यापी प्रवृत्ति र हाम्रो मुलुकमा त्यसको प्रभावलाई हेर्दा यस महामारीको संक्रमण अझै केही अवधि जारी रहने देखिएको भन्दै समुदायमा संक्रमण थप विस्तार हुन नदिन आवश्यक सावधानीका साथ केही नयाँ कदमहरु चालिने समेत जानकारी गराए।