काठमाडौं सहित १० जिल्लामा थपिए ७२ संक्रमित, अहिले सम्मकै उच्च संख्यामा संक्रमित पुष्टि
नेपालमा थप ७२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नेपालमा एकै पटक ७२ जनामा संक्रमण पुष्टि गरेको छ ।
एकै पटक संक्रमण देखिएको यो अहिलेसम्मकै उच्च हो । सोमबार ७२ जना थपिएसँगै नेपालमा संक्रमित संख्या ६७५ पुगेको छ । मन्त्रालयले जारी गरेको सूचना अनुसार, काठमाडौंमा तीन संक्रमित पुष्टि भएको छ । टोखा नगरपालिका–४, ५ र ६ का २७, ४१ र ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
धनुषामा तीन जना, बारामा दुई जनामा संक्रमण देखिएको छ । रौतहटमा २६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, धनुषा र रौतहटका संक्रमित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका सप्तरीका दुई जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य प्रतिष्ठानमा परीक्षण गरिएका बर्दियाका एक जना, बाँकेका चार जनामा संक्रमण पुष्टि भएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा परीक्षण गरिएका बाराका २१ जनामा संक्रमण देखिएको छ । दैलेखमा सात जनामा संक्रमण देखिएको छ ।