आज ईद, घरभित्रै बसेर मनाइँदै
रमजान महीना सकिएको खुसियालीमा मुस्लिम समुदायले आज एकअर्कामा शुभकामना साटासाट गरी ईद उल फित्र अर्थात ईद मनाउँदैछन् ।
हिजरी संवतको रमदान महीनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महीनाको पहिलो तारिखमा ईद मनाउँछन् । सरकारले यसअघि आइतबार ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई सच्याएर आज बिदा दिने निर्णय गरेको छ ।
फरक–फरक भूगोलबाट चन्द्रमा देखिन दिन फरक हुने हुँदा ईदको दिन पनि फरक पर्दै आएको छ । सम्बन्धित क्षेत्रका मुख्य मौलानाले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि मात्र यो पर्व मनाइन्छ ।
यो ईदमा अल्लाहका नाममा विशेष नमाज गर्ने परम्परा छ । त्यस्तै नयाँ लुगा लगाउने, सेवई (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खीर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ।
पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्छन् । तर, यसपटक कोरोनाभाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मुस्लिम आयोगले आह्वान गरेको छ । रोजा अवधिभर पनि इस्लाम समुदायले घरैमा नमाज पाठ गरेका थिए।
ईदमा आफन्त, छिमेकी र साथीभाइको घर गएर शुभकामना दिँदै मिष्ठान्न खाने चलन हुन्छ । तर, यो वर्ष घरमा परिवारसँग मात्र मनाउन लागिएको जनकपुरका पत्रकार हदिश खुद्दार बताउँछन् ।
ईदमा इस्लाम धर्मावलम्बीले गरीब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम दान गर्नुपर्छ । साढे सात तोला सुन वा त्यति बराबर सम्पत्ति भएको मान्छेले अनिवार्य जकात दिनुपर्ने चलन रहेको जनकपुरका पत्रकार खुद्दार बताउँछन् ।
तर, फित्रा (दान) भने ईदमा नमाज पढ्नुअघि सबैले दिनुपर्छ । एक महीना रोजा बस्दा भएका कमीकमजोरीमा माफी स्वरुप फित्रा दिनुपर्छ । यो प्रायः साढे दुई किलो गहुँ बराबरको रकम हुने पत्रकार खुद्दार बताउँछन् । यो वर्ष फित्रा गर्न जनकपुरमा रु.९० तोकिएको उनले जानकारी दिए ।