सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णय फिर्ता गराउन मन्त्री गुरुङसँग सांसद महिलाहरुकाे आग्रह
संघीय संसदका सांसद महिलाहरुले एकल महिला र निलो कार्ड भएका अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता रोकेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरु पार्वती कुमारी विशुन्के, लक्ष्मी चौधरीलगायतले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई भेटेर गृह मन्त्रालयले आकस्मिकरुपमा अपांगता, एकल महिला, र दलित बालबालिकाको भत्ता रोकेको भन्दै लिखितरुपमै ध्यानाकर्षण गराएका हुन्।
त्यसक्रममा मन्त्री गुरुङले निर्णय फिर्ता गराउन पहल गर्ने बताएकाे भेटमा सहभागी सांसद विशुन्केले जानकारी दिइन् । उनले भनिन्, “संविधानको मौलिक हकअन्तर्गत धारा ४३ बमोजिम सामाजिक सुरक्षा ऐन बनेको तर संविधानको मर्म विपरित नियमावली बनाएर भत्ता कटौती गर्नु गम्भीर र दुःखद विषय हो, त्यसैले विशेष सराेकारकाे मन्त्रालयका मन्त्रीसँग भेट गरेका हाै ।”
मन्त्री गुरुङसँग मन्त्रालयमा भएका भेटमा सहभागी अर्की सांसद लक्ष्मी चौधरीले महामारीका बेला यस्तो समूहलाई थप भत्ताको व्यवस्था गर्नुको सट्टा प्रचलनमा रहेको भत्ता समेत कटौती गर्नु संविधान विपरित र मानवीयता विपरितको काम भएको बताइन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २६ चैत २०७६ मा निर्णय गर्दै चैतदेखि नै भत्ता नपाउने निर्णय गरेर सबै स्थानीय तहमा पत्राचार समेत गरिसकेको छ ।
विभागले सामाजिक सुरक्षा ऐन र नियमावली बमोजिम भत्ता रोकिएको पत्रमा उल्लेख गरेको छ ।
पत्र अनुसार ६० वर्ष मुनिका एकल महिला, निलो कार्ड भएका अति अशक्त अपांग तथा दलित बालबालिकाहरुको सामाजिक सुरक्षा भत्ता रोकिएको छ ।