संविधान संशोधनबारे निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाउने
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन सम्बन्धी विषयमा निर्णय गर्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन सम्बन्धी विषयमा आवश्यक निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो।
बैठकले महाकाली पूर्वका लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारलाई उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्न फेरि माग गर्ने निर्णय गरेको छ।
अब बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनको दुई महीनाको स्थितिका बारेमा समीक्षासँगै सीमाका बारेमा पार्टीको धारणा प्रष्ट पारिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
साथै, कोरोना विरुद्धको संघर्षका क्रममा सरकारले समयमै गम्भीरता नराख्दा संक्रमितको संख्या व्यापक बढेको, अन्तत: ३ जनाको मृत्यु समेत भइसकेको स्थितिलाई कांग्रेसको पदाधिकारी बैठकले गम्भीरतापूर्वक लिएको भन्दै सरकारलाई स्थितिको गहन समीक्षा गरेर युद्धस्तरमा कार्य गर्न अपिल र माग गरेको छ।
बैठकले नेपालमा पहिलो संक्रमित भेटिएको ४ महीना र लकडाउन भएको २ महीना पूरा हुँदासम्म अझै पनि परीक्षण सुस्तगतिमा हुनु, पर्याप्त स्वास्थ सामग्री नहुनु र क्वारेन्टिनहरु नाम मात्रका हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न सरकारले नसक्नु सरकारको गैह्रजिम्मेवारी र असक्षमताका रूपमा लिएको छ । काममा गति बढाउन, आवश्यक सम्पूर्ण प्रबन्ध गर्न र पीसीआर परीक्षण निःशुल्क रुपले व्यापक बढाउन बैठकले सरकारसमक्ष माग गरेको छ।
भारतका विभिन्न शहरबाट सीमामा आइपुगेका नेपालीलाई व्यवस्थित ढंगले प्रवेश गराउन, क्वारेन्टिनमा राख्न र पीसीआर परीक्षण पश्चात् मात्रै घर पुर्याउने प्रबन्ध गर्न माग गरेको छ।
सरकारले यस विषयमा गम्भीर ध्यान नदिएर व्यवस्थित योजना साथ कार्य नगरिरहेको चित्रले आगामी दिनमा स्थिति झनै जटिल बन्न सक्ने तर्फ सरकारलाई सतर्क गराउँदै बैठकले नागरिकको जीवनप्रति खेलवाड नगर्न सरकारलाई चेतावनी दिएको छ।
विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्धार गर्ने व्यवस्थित कार्ययोजना निर्माण गर्न सरकारले गरेको ढिलाइलाई आफ्ना नागरिकप्रतिको असंवेदनशील व्यवहार ठहर गर्दै बैठकले यथाशीघ्र आवश्यक योजना सार्वजनिक गरेर अप्ठ्यारोमा परेका नेपालीको उद्धार थाल्न सरकार समक्ष माग गरेको छ।
अन्य विविध कारणले विदेशमा मृत्यु भएका करीब दुई सय भन्दा बढी नेपालीको शव नेपाल ल्याउने प्रबन्ध तत्काल मिलाएर शोकमा रहेका परिवारजनको पीडामा मल्हम लगाउने राज्यको कर्तव्य पालना गर्न कांग्रेस पदाधिकारी बैठकले सरकारलाई आग्रह गरेको छ।