भारतीय ह्याकरबाट उड्डयन प्राधिकरणको साइट ह्याक
उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वेबसाइट ह्याक भएको छ । क्यानको साइटलाई भारतको एउटा ह्याकर समूहले कब्जामा लिएकाे हाे।
आइतबार साँझ आईक्रु नाम गरेको ह्याकर समूहले प्राधिकरणको साइट ह्याक गरेकाे हाे। ह्याकरले वेबसाइट कब्जामा लिएर भारतको झन्डासहित ह्याक गरिएको सन्देश छाडेकाे हाे।
बेवसाइटमा ह्याकरको शक्ति अनुभव गर (फिल द पावर अफ इन्डियन ह्याकर्स) भनेर उल्लेख गरिएको छ । नेपाल र भारतबीच सीमा विवाद बढेपछि भारतीय ह्याकरको निसानामा प्राधिकरणको बेवसाइटलाई पारिएको छ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बेवसाइट ह्याक भएको भएपनि डाटा भने सुरक्षित नै रहेको बताए । उनले भने, ‘‘ह्याकरले ह्याक गरेको जानकारी पाउनासाथै प्राधिकरणका प्राविधिकले आफ्नो नियन्त्रणमा लिइसकेका छन् । फेरि ह्याक हुन सक्छ कि भनेर निगरानी भइरहेकाले केही समयपछि वेबसाइट नियमित सञ्चालनमा ल्याइने छ ।’’