सेनामा स्टाफ कलेज सरह अर्को कोर्ष शुरु, वृत्ति विकासका तालिम नरोक्ने जंगी अड्डाको निर्णय
नेपाली सेनाले आर्मी कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परीक्षामा उत्तीर्ण भई कोटामा नपरेका अधिकृतहरूका लागि नयाँ कोर्षको शुरुवात गरेको छ । सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयले स्टाफ कलेज सरहको सो तालिम आइतबारबाट शुरुवात गरेको हो ।
अल आर्मस कमाण्ड तथा स्टाफ कोर्ष (एएसीएससी) नाम दिइएको तालिममा पहिलो ब्याचका ५० जना अधिकृत सहभागी छन् । सेनामा वृत्ति विकास र महत्वपूर्ण अन्तर्राष्ट्रिय अवसरका लागि स्टाफ तालिम अनिवार्य हुन्छ ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले यो तालिम त्रिभुवन विश्वविद्यालयको नियम अनुसार संचालनमा ल्याएको बताए । उनले नियम अनुसार अवसरका लागि उत्तीर्ण भएकाहरूलाई वञ्चित गर्न नमिल्ने बताए।
“स्टाफ कलेजमा संख्याको सीमितता छ, यो तालिम गरेका अधिकारीहरू समेत स्टाफ कलेज गरेकाहरूसँग धेरै प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्,” पाण्डेले भने।
सेनाले आफ्ना अधिकारीहरूको वृत्ति विकाससँग जोडिएका तालिम र अभ्यासहरूलाई निरन्तरता दिन थालेको छ । सेनाले कोभिड–१९ को संक्रमण नेपालमा देखिएसँगै आफ्ना सबै औपचारिक तथाा अनौपचारिक कार्यक्रम, तालिम र अभ्यास स्थगित गरेको थियो।
बलाधिकृत रथी शरदकुमार गिरीले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन भएको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुरुवात गरेका हुन् ।
सेनामा सहायक रथी बढुवाका लागि अनिवार्य मानिएको यो कोर्षमा यसपटक २५ जना महा सेनानीहरु सहभागी छन् ।
नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने तालिमका लागि कोभिड–१९ को जाँच अनिवार्य गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।