परिमार्जित नक्शा अनुसार संघीय संसद् र सांसदहरुको लोगो परिमार्जन गर्ने प्रक्रिया शुरु
मुलुकको परिमार्जित नयाँ नक्शा अनुसार संघीय संसद् र संसद् सदस्यहरुले लगाउने लोगो परिमार्जन गरिने भएको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार छुट्टाछुट्टै बसेको बैठकले नयाँ नक्शा अनुसार संघीय संसद्को र संसद् सदस्यहरुले लगाउने लोगो परिमार्जन गर्न सचिवालयलाई निर्देशन दिएको हो।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले संघीय संसदको प्रतीक र प्रतिनिधिसभाका सदस्यहरुले प्रयोग गर्दै आएको लोगोलाई परिमार्जन गर्ने निर्णय गरेको सभामुखका सञ्चार सल्लाकार श्रीधर न्यौपानेले जानकारी दिए।
राष्ट्रिय सभा र प्रतिनिधिसभाको दुवै कार्यव्यवस्था समितिहरुले निर्णय गरेबमोजिम लोगो अद्यावधिकको काम शुरु गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। “लोगो नै फेर्नेभन्दा पनि लोगोमा भएको नेपालको नक्शा मात्रै अद्यावधिक गरिने हो”, उनले भने।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले लोगो बनाउने प्रक्रिया शुरु भइसकेको तर खर्चको हिसाबकिताब नभएको बताए। पहिले एउटा लोगो रु. २ हजार ५ सयमा बन्ने गरेको र नक्शामा मात्रै परिमार्जन गर्दा कति खर्च लाग्ने अनुमान भइनसकेको संसद् सचिवालयले जनाएको छ।
संघीय संसदको लोगो कलाकार टेकवीर मुखियाले डिजाइन गर्दै आएका छन्।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी राखेर जारी गरेको नयाँ नक्शा राजपत्रमा समेत प्रकाशन भइसकेकाले यसको प्रयोग हुन थालिसकेको छ।
निशान छाप समेत प्रयोग गर्ने निकायहरुले भने संविधानको अनुसूचीमा संशोधन भएपछि प्रक्रिया शुरु गर्नेछन्। संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित यो अनुसूची ३ संशोधन गर्न सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरिसकेको छ।
अनुसूची ३ मा नेपालको निशान छाप छ, जसको भित्रपट्टि नेपालको नक्सा छ।