'अमेरिकाले चीनलाई नयाँ शीतयुद्धतर्फ लैजाँदैछ'
चीनका विदेशमन्त्री वाङ यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई शीतयुद्धतर्फ लगिरहेको बताएका छन्। चीनको विदेश नीति र कूटनीतिक सम्बन्धबारे मिडियालाई ब्रिफिङ गर्दै उनले कोरोनाभाइरस नियन्त्रणको नियमित प्रयासबीच चीनको कूटनीति राम्ररी अघि बढिरहेको दाबी समेत गरे।
अमेरिकाका केही राजनीतिक शक्तिले चीन र अमेरिका सम्बन्धलाई आफ्नो पकडमा राखेको र तिनीहरुले दुवै देशलाई नयाँ शीतयुद्धतर्फ लगिरहेको विदेशमन्त्री वाङले बताए। "यो इतिहासको गतिलाई पुरानै अवस्थामा पुर्याउने खतरनाक प्रयास हो", उनले भने।
विदेशमन्त्री वाङले अमेरिकालाई बदल्न चीनको कुनै रुचि नभएको भन्दै अमेरिकाले पनि विकासको बाटोमा लम्किरहेको चीनलाई रोक्न नसक्ने स्मरण गराएका छन्। उनले चीन र अमेरिकाको राजनीतिक व्यवस्था भिन्न भएको र यो दुवै देशका जनताको मर्जीबाट तय भएको भन्दै यसको सम्मान गरिनुपर्ने संकेत पनि गरेका छन्।
उनले भने, "अमेरिका आफ्नो बाटोबाट हट्दै गएको छ, तर यसको अर्थ आपसी सहयोगको सम्भावना अब छैन भन्ने होइन। दुवै पक्षबीच संसारको कैयौं ठूला मुद्दामा छलफल र बहसको खाँचो छ।"
वाङले चीन र अमेरिकाबीच सहयोगको परम्परा रहेको र अहिलेको कोरोनाभाइरस महामारीको वेला पनि त्यो कायम रहेको बताए।
उनले भने, "कोरोनाभाइरसको महामारी शुरु हुने वेला हामीले स्वास्थ्य सामग्री एक-आपसमा सहयोग गर्यौं। अर्बौं मास्क अमेरिका पठाइयो। तर विडम्बना, अमेरिकामा राजनीतिको भाइरस फैलिरहेको छ।"
यो राजनीतिक भाइरस विरुद्ध चीन र रूसले रणनीतिक तालमेल गरी आफ्नो शक्ति देखाएको पनि उनले बताएका छन्।
उनले भने, "रूस र चीनले कोरोना महामारीको वेला एक-अर्कालाई सहयोग गरेका छन्। जबसम्म दुई देश मिलेर काम गर्नेछौं, हामीले संसारको विविधता तथा शान्ति र न्यायको रक्षा गरिरहनेछौं।" - एजेन्सी