बाँकेमा प्रहरी जवानमा संक्रमण पुष्टि
बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।
नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गाउँपालिकामा भेटिएका २७ सङ्क्रमित मध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । चौकीमा रहेका अन्य सुरक्षाकर्मीलाई क्वारेन्टिनमा पीसीआर परीक्षणको तयारी भएको छ ।
खजुरा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका खजुरा –५ का एक युवकमा सङ्क्रमण देखिएको भोलिपल्ट स्वास्थ्यकर्मीमा सङ्क्रमण देखापरेको खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
नरैनापुरमा शनिबार कोरोना सङ्क्रमण देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा तयार गरिएको आइसोलेशन केन्द्रमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।