नेकपाको सचिवालयमा एमसीसीबारे छलफल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय सदस्यहरुले अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गरेका छन् । बालुवाटारमा शनिबार अपरान्ह एमसीसीबारे छलफल गरिएको हो।
गएको पुसमा सम्पन्न केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न बनाएको कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको बताइएको छ ।
एमसीसीबारे भएको छलफलमा कार्यदल सदस्यहरु भीम रावल र प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्यहरु देव गुरुङ र लिलामणि पोखरेललाई पनि बोलाइएको थियो ।
एमसीसीबारे कार्यदलले बुझाएको प्रतिवेदनको अन्तर्वस्तुबारे छलफल भएपनि कुनै निष्कर्षमा भने नेताहरु पुग्न नसकेको बैठकले स्रोतले जनाएको छ । कार्य दलका संयोजक एवम् सचिवालय सदस्य झलनाथ खनाल र कार्यदल सदस्य भीम रावलले संसदमा पुगेको एमसीसी संशोधन सहित पारित गर्नुपर्ने प्रतिवेदन पेश गरेका छन् भने कार्य दल सदस्य प्रदीप ज्ञवालीले छुट्टै प्रस्ताव पेश गरेका छन् ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली छलफलमा सहभागी थिएनन् । सचिवालयका सदस्यहरु बीच अनौपचारिक छलफल मात्रै भएकाले प्रधानमन्त्री ओली सहभागी नभएको बताइएको छ । नेकपामा एमसीसी पारित गर्नेबारे मत विभाजित छ ।