कला/साहित्य शनिबार, जेठ १०, २०७७

महामारीपछि साहित्यको भविष्य

हिमालखबर

महामारीपछि साहित्यको भविष्य
डिसेम्बर २०१९ मा पोखरामा भएको आइएमई नेपाल साहित्य महाेत्सवमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाट डीएससी २०१९ पुरस्कार ग्रहण गर्दै लेखक अमिताभ बाग्ची । तस्वीरः डीएससी प्राइज ।

पुस्तक प्रकाशन, पुरस्कार वितरण, साहित्य महोत्सवहरु सबैमा यो महामारीले प्रतिकूल प्रभाव पारेको छ । तर, मलाई लाग्छ राम्रो कामका लागि सहयोग गर्ने सहृदयी मन जसरी पहिले थिए, महामारीपछि पनि भेटिनेछन्।

सुरिना नरुला

यी अनौठा समय हुन् तर यति शान्त र सुन्दर पनि कहिल्यै देखिएको थिएन । हाम्रो काँधमा मृत्युले धाप मारिरहेको र भाइरसले लुकामारी खेलिरहेका वेला हामी गहिरो निद्रामा जस्तो आराम गरिरहेका छौं । हामीले उपभोग गरिरहेका ठाउँहरु हामीले नै पुनः दाबी नगरुञ्जेल प्रयोग गर्न पक्षी र जनावरहरुलाई आमन्त्रण गरेका छौं।

यो एउटा सुन्दर संसार हो र यसलाई सूक्ष्म भाइरसले स्पष्टसँग ध्यान केन्द्रित गराइदिएको छ । विडम्बना त के हो भने हामीलाई मार्न बनेको यही भाइरसले नै हामीलाई जीवनमा के कुराको महत्व र अर्थ छ भन्ने सिकाइरहेको छ।

ठाउँ–ठाउँमा भएको कडा बन्दाबन्दीका वेला घरमा परिवारहरु सँगै बस्ने मानिसहरु धेरै पढ्न थालेका छन् । पठनीय सामग्रीको सूची सुरक्षित तवरले सुझाइरहेका छन् र पुराना र मन पराइएका पुस्तकहरु पनि पुनः पढिरहेका छन्।

अब पढ्ने बानी परिवर्तन हुनेछ किनभने हामीले हातमा पुस्तकको होइन, विद्युतीय माध्यम (इलेक्ट्रोनिक मिडिया) मा धेरै भर पर्नुपर्छ । ‘किण्डल’ (पुस्तक झैं पाना पल्टाएर पढ्न मिल्ने विद्युतीय उपकरण) लाई घृणा गर्ने मेरा केही साथी अहिले त्यसैमा पढिरहेका छन् । प्रकाशन उद्योगले नयाँ संस्करणहरु छाप्न नसकेको र पसलहरु पनि बन्द भएकाले उनीहरु यस्तो माध्यम अपनाउन बाध्य छन्।

विहानको खाजासँगै हातमा एउटा अखबार समातेर दैनिक समाचार पढेजस्तै मेलबक्सहरुमा इ–कागजातहरु प्राप्त गर्नु एउटा नयाँ तरिका हो । विद्युतीय र डिजिटल माध्यमका लागि अनपेक्षित आन्दोलन सधैं अपरिहार्य थियो कि थिएन भन्ने मलाई थाहा छैन तर सबैले आफूलाई यसैगरी रुपान्तरण गर्न भने सहज छैन।

महामारीका कारण अब साहित्य महोत्सवहरु पनि परिवर्तन गर्नुपर्ने छ । साहित्यिक पुरस्कारका लागि पढ्न र मूल्यांकन गर्न पनि निर्णायकहरुलाई विद्युतीय स्वरुपमा पुस्तक पठाउने संभावना समेत विचार गर्नुपर्ने भएको छ। यसो गर्दा के निर्णायकलाई सहज होला ? उनीहरुको पठनपाठनलाई असर गर्ला ?

भाइरसले अन्य चिजहरुसँगै व्यावसायीकरण, गलत मान्यताहरु र गम्भीर दार्शनिक प्रश्न सम्बद्ध मुद्दाहरु पनि अगाडि ल्याएको छ । सरकारहरुले नयाँ कानून जारी गरिरहेका छन्, र ती महामारी पछि पनि परिवर्तन हुनेछैनन् तर तिनले साहित्यलाई सत्य उजागर गर्ने भूमिका निर्वाह गर्न मद्दत गर्नेछन् । त्यसवेला सेन्सरसिप कडा हुन सक्छ र पुस्तकहरुको सहज विश्वव्यापी वितरणमा प्रभाव पार्न सक्छ।

हामीले पहिले भन्दा अझ धेरै पढ्न भाइरसले हाम्रो दिमागलाई खोलिदिने छ । आश्चर्यको कुरा त के हो भने भाइरस र साहित्य बीचको सम्बन्ध सकारात्मक हुन सक्छ ।
भाइरस जनावर, पक्षी, फूलहरु र वातावरणलगायत विश्वभरि फैलिरहेको छ । यसले हामीलाई मानव लोभ त्याग्न सिकाउने प्रयत्न गर्दैछ । विश्व व्यवस्था परिवर्तन गर्ने धम्की दिइरहेको छ । यसले लोकतन्त्र, अभावमा रहेका र गरीबहरुलाई समेत हानि पुर्‍याउन सक्छ।

यतिबेला कलाकार, लेखक र कविहरु सान्त्वना दिन र आशावादी हुन अनुरोध गर्दै एकत्रित भइरहेका छन्, र यसको अर्थ के हो भनेर भविष्यका सन्ततिलाई बुझाउन अभिलेखीकरण गर्दैछन् । प्रायः संकटकै वेलामा सबैभन्दा मार्मिक साहित्य र संगीत रचना भइरहेको देखिएको छ । हाम्रा सामु महामारीकै क्रममा र त्यसपछि पनि नयाँ लेखन र लेखक उदाउन सक्छन् ।

महामारीले निश्चय नै एक खालको आर्थिक संकट र वित्तीय समस्या निम्त्याउने छ । साहित्यिक पुरस्कारहरु दिन चाहिने रकम कसरी जुट्ला ? निजी कम्पनीहरु वित्तीय संकटमा रहेका वेला उनीहरुलाई मनाउन कठिन हुन सक्छ । यस्तैबेला पुरस्कारका लागि पहिल्यै खडा गरिने कोष चाहिने हो, नोबेल पुरस्कार जस्तै ।

आइएमई नेपाल साहित्य महाेत्सव २०१९ को झलक।

दक्षिण एसियाली क्षेत्रसँग सम्बन्धित आख्यान साहित्यलाई प्रोत्साहित गर्ने उद्देश्य राखेर सन् २०१० मा डीएससी पुरस्कार स्थापना गरिएको हो । दक्षिण एशियाली भावभूमिमा लेखिएका आख्यानलाई दिइने यो पुरस्कार दाबी गर्न लेखक जहाँका पनि हुनसक्छन्।

पछिल्ला वर्षहरुमा डीएससी पुरस्कारको घोषणा श्रीलंका, बांग्लादेश र नेपालमा गरिसकिएको छ। डीएससी पुरस्कार एउटा निजी तवरमा गरिएको प्रयास भएकाले आर्थिक मन्दीका क्रममा यसलाई निरन्तरता दिन धेरैथोक गर्नुपरेको थियो, खासगरी पूर्वाधार निर्माण कम्पनी पुरस्कारको संरक्षक भएकाले ।

डीएससी पुरस्कारका पछिल्ला पाँच वर्षमा हामीलाई आउने करीब ३० प्रतिशत पुस्तक दक्षिण एसियाबाहेक बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया र दक्षिण अफ्रिकी प्रकाशक मार्फत आउने गरेको छ। यसको अर्थ के हो भने महामारीका कारणले केही देशका प्रकाशन उद्योगमा नैराश्यता छाएको हुन सक्छ तर आफ्ना प्रकाशनसहित अरु देशका प्रकाशकहरु अगाडि आउन सक्छन् । डीएससी पुरस्कार स्थापना भएको दश वर्ष भयो । हामी अगाडिको बाटो पहिल्याउन दृढ छौं । यद्यपि अघिल्लो वर्षको तुलनामा थोरै ढिलाइ हुनेभएको छ ।

विचार पुर्‍याएर शुरु गरिएका व्यवसायहरुलाई भाइरसले हल्लाउन सक्छ जस्तो मलाई लाग्दैन तर भाइरसले उग्ररुप लिनु अघि नै खराब स्थितिमा रहेका व्यवसायलाई टिकाइराख्न भने कठिन हुनसक्छ । जयपुर साहित्य महोत्सव अघि साहित्य महोत्सव र पुरस्कारहरु वास्तवमै फेसनेबल व्यवसाय थिएनन्, जसले साहित्य र लेखकहरुलाई नागरिकसम्म पुर्‍यायो र समाचारको विषय बनायो ।

यसअघि भारतमा आयोजना गरिने साहित्य महोत्सव तथा वितरण गरिने पुरस्कारहरु अधिक गम्भीर र बन्द कोठाभित्र दिइने खालका थिए । जहाँ साहित्यलाई बुद्धिजीवीको एक विशेषाधिकार मानिन्थ्यो । पाठकहरुलाई लेखकसँग कुराकानी वा बहस गर्ने अनुमति थिएन । बल्ल अहिले साहित्य सबैका लागि हो भन्ने भएको थियो। यसले साहित्यिक वातावरणलाई अझ दिगो बनाएको छ ।

भाइरसले साहित्य महोत्सवहरुलाई असर गर्न सक्छ र प्रायोजक पाउन पनि समस्या हुनसक्छ, तर साहित्यको पहुँच वा दायरा फराकिलो हुँदै गएको छ । र, मलाई लाग्छ पुस्तक र लेखक प्राथमिकतामा राख्न स्रोतसाधन उपलब्ध गराउने मानिसहरु सधैं भेटिनेछन् ।

साहित्यिक पुरस्कारहरुको पनि अस्तित्व रहिरहनेछ किनभने आफ्नो बजार र परोपकारी आवश्यकतालाई अगाडि बढाउँदै समाज र कलामा योगदान पुर्‍याउने यो उत्तम तरिका प्रायोजकहरु छाड्ने छैनन् । राम्रो कामका लागि सहृदयी मन जहिल्यै भटिनेछन् ।

(नरुला दक्षिण एसियाको सबैभन्दा ठूलो साहित्यिक पुरस्कार डीएससी पुरस्कारकी सह–संस्थापक हुन् ।)

प्रतिकृया दिनुहोस