नरैनापुरको स्थिति नियन्त्रण बाहिर जानसक्ने भन्दै प्रदेश र संघीय सरकारसँग गुहार
बाँकेको नरैनापुर गाउँपालिकाले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि संघीय सरकारलाई गुहारेको छ ।
गाउँपालिकाले नरैनापुरको स्थिति नियन्त्रण बाहिर जानसक्ने अवस्था आएको भन्दै चिकित्सक र थप सुरक्षा टोलीसहित आवश्यक जनशक्ति परिचालन गरी स्थितिलाई नियन्त्रणमा राख्नका लागि केन्द्र सरकार गुहारेको हो ।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले आज जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र लेख्दै स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेको जानकारी गराएका छन् ।
उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालयसहित प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई समेत पठाइएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा अहिलेसम्म १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमित र उनका परिवारलाई केही मानिसले उक्साउने र कोरोनाभाइरसको बारेमा भ्रम सिर्जना गरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमतिलाई भगाउने प्रयास भइरहेको गाउँपालिकाका तर्फबाट लेखिएको पत्रमा उल्लेख गरिएको छ ।
त्यसले गर्दा संक्रमण क्वारेन्टिनबाट समुदायस्तरमा फैलिने र स्थिति भयावह हुने सम्भावना रहेको प्रमुख प्रशासकीय अधिकृत खरालले लेखेको पत्रमा उल्लेख गरिएको छ ।
अहिलेसम्म क्वारेन्टिनमा राखिएकाको मात्र स्वाब संकलन गरिएको र गर्ने काम भइरहेको छ । नरैनापुर गाउँपालिका मुस्लिम र मधेशी बाहुल्य भएको र भारतसँग सिमाना जोडिएको गाउँपालिका हो । यहाँका स्थानीयमा कोभिड १९ को बारेमा अन्धविश्वास रहेको गाउँपालिकाले जनाएको छ ।
अहिलेसम्म संक्रमण पुष्टि भएकाहरू भारतको महाराष्ट्र र दिल्लीबाट आएकाहरू धेरै छन् । मानिस आउनेक्रम अहिले पनि जारी रहेकाले स्थिति भयावह हुनसक्ने गाउँपालिकाले जनाएको छ ।